गाई तस्करी गर्ने ६ गाडी नियन्त्रणमा
हेटौंडा- मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाम गरेर अवैध रुपमा गाई तस्करीमा संलग्न गाडि र गाईलाई नियन्त्रणमा लिएको छ । शनिवार बिहान १ बजे हेटौंडाबाट पश्चितर्फ लाने तयारी गरेको र मनहरीबाट पूर्वतर्फ ल्याउने क्रममा प्र २–०४–००१ च ००९०, बा २० च ४६६, प्र २–०३–००१ च ६२७०, ना ५ त २९३०, बा ०३–००१ च १३७८, बा ३–००१ च १००८ नम्बरको पिकअप गाडीबाट गाई फेला परेको थियो । मनहरी–७ मनहरी बजारस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डमा सवारी जाँच गर्ने क्रममा गाई ल्याउँदै गरेका ४ वटा गाडि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ । हेटौंडाको रातोमाटे चेक पोष्टबाट दुई वटा गाई बोकेका गाडि नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार प्र २–०४–००१ च ००९० पिकअप गाडीमा ६ वटा गाई, बा २० च ४६६ नम्बरको गाडीमा गाई ५ वटा, प्र २–०३–००१ च ६२७० गाडीमा गाई ५ वटा, ना ५ त २०३० नम्बरको गाडीमा ५ वटा गाई, बा ०३–००१ च १३७८ पिकअप गाडीमा गाई ३ वटा र बाछा १ वटा र बा ३–००१ च १००८ नम्बरको पिकअप गाडीमा गाई ३ वटा र बाछा १ वटा गरी जम्मा ६ वटा पिकअप गाडीमा २९ वटा गाई तथा बाच्छा र भेटेरीनरी कागजात थान ४ समेत फेला परेको जनाइएको छ ।
बरामद गाई तथा बाच्छाहरु चितवनको राप्ती नगरपालिका भण्डारास्थित ईट्टाभट्टा नजिकबाट लोड गरी ल्याएको खुलेको छ । उक्त गाई र बाच्छालाई इलाका प्रहरी कार्यालय मनहरी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाको रोहबरमा चितवन नै फिर्ता पठाइएको जनाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ब्रज किशोर ठाकुरले अवैध रुपमा गाई ओसारपसार गर्न नपाइने बताए ।







