हात्तिसुढेसम्म साइकल यात्रा
हेटौंडा- हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा भएको साइकल यात्रा हेटौंडादेखि हात्तिसुढेसम्म पुगेको छ । जिल्लाको पर्यटन र स्वस्थ रहन साइकल चलाउनु पर्ने सन्देश प्रवाह गर्न हिमालयन राइडर्सले जिल्लाका विभिन्न स्थानमा साइकल यात्रा गर्दै आइरहेको छ । राइडर्सका २० जना सदस्यहरुको साइकल टोली हेटौंडादेखि चौघडा, हर्नामाडी, फुर्केचौर, छतिवन जुरेली हँुदै हात्तिसुडेमा रहेको बकैया गाँउपालिका पुगेर पुनः हेटौडा फर्केको थियो । बकैया गाँउपालिकामा पालिका अध्यक्ष धर्मराज लामिछानेसहित उपाध्यक्ष भक्तबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडा अध्यक्षहरु राजन दगांल, लक्ष्मी जिम्बालगायतले साइकल टोलीलाई स्वागत गरेको थियो ।
हिमालयन राइडर्सका अध्यक्ष रामकुमार श्रेष्ठले साईकल यात्रीहरुलाई बकैया गाउँपालिकाले गरेको स्वागतलाई मनैदेखी धन्यवाद दिए । बकैया अध्यक्ष लामिछानेले साइकल चढेर स्वस्थ्य बन्न आग्रह गर्नुका साथै स्वस्थ रहन सबैमा सन्देह प्रवाह गरेकोमा धन्यवाद दिए । साइकल चढ्न सके पैसाको बचतसँगै शरिरले पनि स्वस्थ रहन अवसर पाउने बताए ।राइडर्सले स्वास्थ्य, पर्यावरण, पर्यटन, खेलकुद, मनोरञ्जन र दैनिक कामको लागि साइकल चलाउ भन्ने सन्देश प्रवाह गर्न हेटौडादेखि हात्तिसुडेसम्म करिव ७० किलोमिटरको साइकल यात्रा गरेको उपाध्यक्ष राजु थापा मगरले जानकारी दिए ।







