बागमती गाउँपालिकामा निर्वाचन लक्षित नमूना मतदान अभ्यास
हेटौंडा- पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलक्षित नमूना मतदान अभ्यास गरिएको छ ।
आइतबार बागमती प्रदेश निर्वाचन आयोगको आयोजनामा पालिकाको प्राड्डणमा नमूना मतदानको अभ्यास गरिएको हो । गाउँपालिकाका शिक्षा शाखाका सहायक प्रमोद राईले आइतबार भएको नमूना मतदानमा ५३ जनाले मतदान गरेकोमा एउटा मत बदर भएको जानकारी दिए । सामाजिक सञ्जालबाटै यस्तो गर्नुपर्छ भनी अनुमान भइसकेको भएपनि प्रयोगात्मक रुपमा भने गरिएको उनले बताए ।
तर, आइतबार प्रयोगात्मक अभ्यास गर्दा अब मतदान गर्दा नझुक्किने बताए । यसपटकको निर्वाचनको व्यवस्थापन कसरी हुन्छ ? कति लाइनमा बस्ने ? भन्ने कुरा स्थानीय निर्वाचनमा भन्दा फरक देखिएको उनको भनाइ थियो । चार प्रकारका मतपत्रमा मतदान गरेको भन्दै उनले क्रमशः प्रतिनिधि सभातर्फको प्रत्यक्ष, समानुपातिक र प्रदेश सभातर्फको प्रत्यक्ष र समानुपातिकमा मतदान गरेको बताए । बागमती प्रदेश निर्वाचन आयोगले मकवानपुरमा पहिलोपटक बागमती गाउँपालिकामा नमूना मतदान अभ्यासको आयोजना गरेको हो । नमूना मतदानमा मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेबारे जानकारी गराइएको प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।







