निर्वाचनमा मकवानपुरभर ३ हजार २ सय सुरक्षाकर्मी खटिँदै

साझाकुरा
२०७९ कार्तिक २४, बिहीबार ११:५८

हेटौंडा- मकवानपुरमा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरेर ३ हजार २ सय जना सुरक्षाकर्मी खटिने भएका छन् । जिल्लास्थित मतदान स्थलहरुमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र म्यादी गरेर ३ हजार २ सय जना निर्वाचनमा परिचालन हुने भएका हुन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले सबै मतदान स्थलमा सुरक्षाकर्मी परिचालन गरेर निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाइने बताए । मकवानपुरमा एक सय ६७ वटा मतदान स्थल छन् । जसमध्ये ६० वटा मतदान स्थल संवेदनशील छन् । सुरक्षाको दृष्टिकोणले मकवानपुरका १९ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचिमा राखिएको छ । संवेदनशील मतदान स्थलको सूचिमा विकट गाउँपालिका र वडाहरुका मतदान स्थल रहेका छन् ।

संवेदनशील मतदान स्थलहरुमा सुरक्षाकर्मीहरु विशेष रुपमा खटिने छन् । निर्वाचनमा पहिलो सुरक्षा घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा ससस्त्र प्रहरी र मतदान स्थल वरपर गरेर तेस्रो घेरामा नेपाली सेना खटाइने पाण्डेले जानकारी दिए । सबै भन्दा धेरै म्यादी प्रहरी एक हजार ६ सय ९९ जना, जनपथ प्रहरी एक हजार ६९ जना, ससस्त्र प्रहरी ४ सय जना, जना र अरु नेपाली सेना खटाउने तयारी गरिएको छ । सुरक्षाकर्मीहरु विशेषतः मतदान केन्द्र, मतपेटिका, मतपत्रको सुरक्षामा प्रहरी परिचालन गरिने जनाइएको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरी मकवानपुरका मतदान स्थल वरपरको सुरक्षाका लागि खटाइसकिएको छ । अब नेपाल प्रहरी र म्यादी प्रहरी भने मतदान अधिकृत, सहायक अधिकृत र कर्मचारीहरुसँग मतपत्र लगायतका सामग्रीहरु लिएर पठाइने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको दश स्थानीय तह मध्येमा भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातीको बसोवास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको छ । अति संवेदनशील मानिएको स्थानमा निर्वाचन विरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइएको छ । मकवानपुरमा नेपाल प्रहरीहरु खटिराखेका कारागार, जिल्ला प्रशासन कार्यालयजस्ता ठाउँमा प्रहरीलाई नेपाली सेनाले निर्वाचन भरी पालो दिएर त्यो जनशक्ति पनि निर्वाचनमा खटाइएको छ ।प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार मकवानपुरमा ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर १ को (क) मा ७७ हजार ९ सय ८९ जना र प्रदेशसभा १ को (ख) मा ७२ हजार १ सय ६६ मतदाता रहेका छन् । प्रदेशसभा क्षेत्र नम्बर २ को (क) मा ८३ हजार ९९ जना र प्रदेशसभा २ को (ख) मा ६७ हजार ४ सय ७९ जना मतदाता रहेका छन् ।

मकवानपुरका १० पालिकामा १६९९ जना म्यादीप्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरका १० वटै पालिकामा १ हजार ६ सय ९९ जना म्यादी प्रहरी खटिएका छन् ।मकवानपुरसहित बागमती प्रदेशका १३ वटै जिल्लामा गरेर प्रदेशभर १९ हजा ६ सय ७८ जना म्यादी प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । जिल्लास्थित प्रहरी कार्यालयमा भर्ना भई तालिम पश्चात प्रत्येक जिल्लाका पालिकाहरुमा म्यादी प्रहरी खटिएका हुन् । चितवनमा १ हजार ९ सय ९१ जना, सिन्धुपाल्चोकमा १ हजार ५ सय ७ जना, काभ्रेमा १ हजार ८ सय ८७ जना म्यादी प्रहरी खटिएका छन् ।

ललितपुरमा १ हजार ३ सय ८ जना, भक्तपुरमा ८ सय ८६ जना, काठमाडौंमा ३ हजार २ सय ७९ जना, नुवाकोटमा १ हजार ५ सय २० जना, धादिङमा १ हजार ६ सय ८८ जना, रसुवामा ३ सय ३० जना, सिन्धुलीमा १ हजार ४ सय १ जना, रामेछापमा १ हजार १ सय जना र दोलखामा १ हजार ८२ जना म्यादी प्रहरी खटिएको जनाइएको छ । निर्वाचनमा थप जनशक्ति परिचालनका रुपमा सरकारले हरेक निर्वाचनमा अस्थायी रुपमा म्यादी प्रहरी भर्ना लिने र परिचालन गर्ने गरेको छ । उनीहरुको समयावधि निर्वाचनसम्मका लागि मात्रै हुने गरेको छ ।

छोटो समयको सेवापछि आकर्षक कमाईका लागि पछिल्लो समय युवापुस्ताहरुमा म्यादीमा भर्ना हुने लहर नै चलेको थियो ।निर्वाचन केन्द्र र मतदान स्थलको संवेदनशीलताका आधारमा जिल्लागत रुपमा म्यादी प्रहरीको संख्या निर्धारण गरिएको छ । देशभर १ लाख १५ हजार म्यादी प्रहरीलाईतालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । म्यादी प्रहरीले असोज ३० बाट नियुक्तिपत्र लिएका हुन् । सुरक्षासम्बन्धी करिब एक साताको तामिल पुरा गरेका म्यादी प्रहरीहरु ४० कार्यदिन निर्वाचन सुरक्षामा खटिने छन् । मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि म्यादीलाई थप ४ दिन परिचालन गरिने जनाइएको छ । देशका ७७ जिल्लामध्ये मनाङमा सबैभन्दा थोरै २ सय २८ जना म्यादी प्रहरी परिचालन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*