जिल्लामा खटिने मतदान अधिकृत र सहायकलाई तालिम
हेटौंडा- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम प्रदान गरिएको छ ।
मकवानपुरका १० वटा पालिकामा खटिने ८ सय जना मतदान अधिकृत र सहायक अधिकृतका लागि शनिबारदेखि दुई दिने तालिम सुरु गरिएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौंडाले तालिम दिएपछि कर्मचारीहरुलाई निर्वाचन सामग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाउने जनाइएको छ । जिल्लाको एकसय ६५ वटा मतदान स्थलमा रहेका तीनसय ७४ मतदान केन्द्रमा खटिने सातसय २८ जना र अन्य थप १० प्रतिशत गरी आठ सय जनालाई तालिम दिन सुरु गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
दुई दिनको तालिम दिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति पत्र बुझेर निर्वाचन कार्यालयले मतदानका दिन चाहिने आवश्यक सामग्री हस्तान्तरण गर्ने तयारी गरेको छ । चुनावमा गर्नुपर्ने सबै कामका विषयमा जानकारी दिएर उनीहरुलाई खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । प्रत्यक्ष तर्फका र समानुपातिक उम्मेदवारका लागि मत राख्ने तरिका, भीड नियन्त्रण, मसी लगाउने, नाम रुजु गर्ने, दोहो¥याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका, मतदाताले गोप्यरुपमा मतदान गर्न पाउने आफ्नो अधिकारलाई सुरक्षित ढंगले प्रयोग गर्नेबारे प्रशिक्षित गराएको छ ।
जिल्लाका एकसय २ वटै वडाका हरेक मतदान केन्द्रमा खटिने सातसय २८ जना मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिन लागिएको उनले बताए । तालिम दिइसकेपछि उनीहरुलाई २८ र २९ गते मतदानका दिन चाहिने सामग्री दिएर सम्बन्धित मतदान केन्द्रमा खटाइने उनले जानकारी दिए । निर्वाचनका लागि खटाइएका कर्मचारी मंसिरको १ गतेभित्र मतदान केन्द्रहरुमा उपस्थित भइसक्नु पर्नेछ ।







