निर्वाचन धुमधाम बनिरहँदा किसान भने मल नपाएर अप्ठेरोमा

साझाकुरा
२०७९ कार्तिक २८, सोमबार ११:५५

हेटौंडा- मकवानपुरको मकवानपुरगढी, बकैया, मनहरी, बागमती र हेटौंडा उपमहानगरपालिकाभित्रका कृषकलाई आलु लगाउने चटारो छ । किसानलाई आलु लगाउने चटारोले सताइरहेको छ भने जिल्लास्थित राजनीतिक दलका नेता कार्यकर्तासँगै उम्मेदवारहरुलाई निर्वाचन धुमधाम लागिरहेको छ । गाउँमा निर्वाचनको रौनकतासँगै किसानलाई खेतीपातीमा भ्याइनभ्याई भइरहेको छ । तर, बिडम्बना नेता र कार्यकर्ता चढेको गाडी सडकमा सरर दौडिँदा किसानहरुलाई भने मल नपाएर आलु लगाउनै नपाउनुको पीडाले भतक्कै पोलेको छ । आलुको ड्याङ बनाउँदा डीएपी मल आवश्यक पर्दछ । बजारमा आलु लगाउन चाहिने डीएपी मलको अभाव छ भने युरिया मल छ्यापछ्याप्ती छ ।
निर्वाचनमा भुलिएको सरकारले आलु लगाउने बेलामा डीएपी मल नल्याउँदा किसानहरु मर्कामा परेका हुन् । कृषि सहकारीहरुबाट बल्लतल्ल मल पाए पनि घण्टौंसम्म लाइन बस्नु परेको किसानहरु बताउँछन् ।

हेटौंडा उपमहानगरपालिका–१ भैरबडाँडाका विनोद सापकोटालाई मल नपाएर आलु लगाउन समस्या भएको छ । बिहान उठ्ने बित्तिक्कै बजार आइपुग्ने सापकोटाले ५ दिनदेखि मल खोज्दा पनि नपाएको बताए । राप्तिरोडबाट बसपार्कतर्फ जाने क्षेत्रमा मल खोज्न भौतारिएका सापकोटाले भने, ‘मैले ब्ल्याकमै मल किनौं भन्दा पनि पाइनँ्,’ आफूलाई र गाउँका आफन्तलाई मल खोजिरहेका सापकोटालाई खेतमा आलु लगाउन हतार भइसक्यो । तर, डीएपी मल अहिलेसम्म नपाएको उनले बताए । ‘बजारभरि युरिया नामको मलमात्रै रहेछ । मलाई चाहिएको छ, डीएपी मल । सहकारीले बाँड्छ भनेको सुनेको छु । अब कहाँको सहकारी खोज्दै जानु’, उनले गुनासो गरे । मनहरी हाँडीखोलाका गोपाल तिमल्सिनालाई पनि यस्तै समस्या परेको छ । उनले आलु लगाउन मल खोजेको धेरै दिन भएपनि नपाएको गुनासो गरे । भीमफेदी गाउँपालिका–१ घर भएका जीवन बिष्ट खेतमा ट्याक्टर लगाइरहे पनि उनको मनमा मल कहाँ पाइएला भन्ने चिन्ताले पिरोलिरहन्छ ।

ट्याक्टरले खेत जोतेर आलु लगाउने तयारी गरेका उनले यसअघि खोजेर पनि मल पाएनन् । अघिल्लो वर्ष पनि डीएपी मल नपाउँदा उनले कुखुराको भुस मल हालेर आलु लगाएको सुनाए ।कुखुराको मलमात्रै हाल्दा राम्रो आलु उत्पादन नभएको उनले बताए । आलु लगाउन खोजेको १० दिन भइसक्यो अझै डीएपी मल पाउन नसकेको बिष्टले बताए । भीमफेदीका पुडासैनीमात्र हैन मकवानपुरका आलु उत्पादन हुने फाँटका अधिकांश किसानलाई मल नपाउँदा समस्या परेको हो । नगदे बालीका रुपमा रहेको आलु नलगाए कृषकलाई आम्दानी र खान किन्नु पर्ने समस्याले पिरोलिरहन्छ । उनीहरुको समस्यामा प्रत्यक्ष सहयोग गर्न कुनै निकायले चासो देखाएको छैन । तर, मल नपाएर प्रताडित बनेका उनै कृषकका घर, आँगनमा निर्वाचन लागेका उम्मेदवारहरु नेता र कार्यकर्ताको जम्बो टोली बोकेर मत माग्न पुगिरहेका छन् ।

मकवानपुरमा दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा निर्वाचन छ । जसमा ठूला तथा साना दल, स्वतन्त्र गरेर ६० जना भन्दा बढी उम्मेदवार मैदानमा छन् । सबै उम्मेदवार कृषकका घरको ढोकासम्म पुगिरहेका छन् । तर, कृषकलाई आपत परेको विषयमा कसैले चासो नदेखाएको मकवानपुरगढी गाउँपालिका–५ का शिवराज तिमल्सिना बताउँछन्।
आफ्नो घरमा पनि उम्मेदवार भोट माग्न आएको बताउने उनले मलको अभाव छ कि छैन भनेर एकपटक कसैले नसोधेको गुनासो गरे । ‘उनीहरुले मल ल्याउन सक्थे की सक्दैन थिए मलाई थाहा छैन । तर, काम गर्ने बेला छ, समस्याहरु के छन् भनेर कसैले सोध्दैन ।

हामीलाई भोट दिनूस् है भनेर कागज छोडेर हिँड्छन्’, उनले भने ।मकवानपुरगढी–५ कै कृष्णप्रसाद ढुंगानाले मल नपाएर आलु लगाउन नपाएको सुनाए । खेतमा खनिरहेको अवस्थामा भेटिएका ढुंगानाले नेताहरुलाई भोट माग्न आउन पनि अप्ठ्यारो लाग्नुपर्ने बताउँछन् । ‘यो देशमा नेताहरुलाई कहाँ लाज लाग्छ र । संधै यस्तो र उस्तो गर्छु, रोजगार दिन्छु भनेर आउँछन् । देशमा काम गरेर खान्छु भनेर कसैले नसोचे पनि हुन्छ’, उनले दुःख पोखे ।

यसमा तपाइको मत

Your email address will not be published.


*