हेटौंडामा अझै रोकिएन बाघ आतंक, लालझाडीबासी त्रासमा

साझाकुरा
२०७९ कार्तिक २९, मंगलवार ०९:४२

हेटौंडा- हेटौंडामा विगत १५ दिनदेखि पाटे बाघको आतंक मच्चिएको छ । हेटौंडाको १ नम्बर वडास्थित भैरवडाँडादेखि लालझाडीसम्म बाघले आतंक मच्चाइसकेको छ ।
दुई वटा बाख्रा खाएपछि सुरुमा भैरवडाँडामा भेटिएको बाघ सोमबार साँझ लालझाडीमा देखिएको हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए । उनलाई लालझाडीबाट बाघ देखिएको भन्दै स्थानीयले जानकारी गराएका थिए । उनले बाघदेखि बचेर घरमै सुरक्षित रहन आग्रह गरेका छन् । बाघलाई नियन्त्रणमा लिन वनका कर्मचारीहरु खटिएपनि हालसम्म बाघ समात्न नसकिएको वडाध्यक्ष न्यौपानेले बताए । बाघले यसबीचमा गाईको बाच्छोदेखि कुखुरा, बाख्रा खाइरहेको छ । हालसम्म बाघले मानवीय क्षति नपु¥याए पनि भैरवडाँडा र लालझाडीका स्थानीय त्रासमा बस्न बाध्य भएका छन् ।

मकवानपुर वन्यजन्तु बाघको उपयुक्त बासस्थान नभए पनि चितवन राष्ट्रिय निकुञ्जबाट मनहरी मध्यवर्ती वन हुँदै लालझाडी आइपुगेको अनुमान लगाइएको
छ । बाघले हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा स्थानीयको पशुचौपाया माथि आतंक मच्चाइसकेको हो । पछिल्ला दुई हप्तामा बाघले एक गाईको बाच्छो र आठ बाख्रा मारेको डिभिजन वन कार्यालय राप्ती, मनहरीका अधिकृत विष्णु प्रसाद आचार्यले जानकारी दिए । १३ कार्तिकमा हेटौंडा–१ भैरवडाँडामा एक–एक वटा बाख्रा र गाईको बाच्छा मारेको थियो । त्यसपछि २६ कार्तिकमा मकवानपुरगढी गाउँपालिका–६ मा ७ वटा बाख्रा÷खसी मारेको जनाइएको छ । स्थानीय गोपाल विश्वकर्माको ७ वटा खशी र बाख्रा मारेको हो ।

हेटौंडाको भैरवडाँडा र मकवानपुरगढी–६ को दुरी करिब १० किलोमिटरमा रहेता पनि शिकारको खोजीमा भैरवडाँडामै आएको बाघ मकवानपुरगढीमा पुगेको हुन सक्नेस्थानीयहरुको अनुमान छ । बाघले एकपछि आर्के स्थानमा पशुचौपाया मार्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । भैरवडाँडा बाघले बाख्रा मारेको खबरपछि डिभिजन वन कार्यालय, राप्तीको पहलमा राष्ट्रिय प्रकृती संरक्षण कोष चितवनले चार वटा क्यामेरा जडान गरेर बाघलाई ट्यापिङ गर्न खोजेको थियो । तर, क्यामेरा राखेको क्षेत्रबाट बाघले बासस्थान सारेको जनाइएको छ । क्यामेराले बाघसँगै चितुवाको ट्यापिङ गरेको डिभिजन वन कार्यालय राप्तीका सहायक अधिकृत तामाङले जानकारी दिए । उनका अनुसार क्यामेरामा बाघ र एउटा चितुवा देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*