आज चुनाव प्रचारप्रसारको अन्तिम दिन, मध्यरातिबाट मौन अवधि सुरु हुने
हेटौंडा- प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचन आउन अब ४ दिन बाँकी छ । देश संघीयतामा गएपछि दोस्रो पटक प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन एकैपटक हुन लागेको हो । मंसिर ४ गते हुन लागेको निर्वाचनमा होमिएका उम्मेदवारहरुले मतदाताहरुसँग मत माग्दै प्रचारप्रसार गर्ने आज बिहिबार अन्तिम दिन हो । निर्वाचन आयोगले उम्मेदवारहरलाई चुनाव हुने दिनभन्दा ७२ घण्टाअघिदेखी प्रचारप्रसार कार्य नगर्न भनेको छ । निर्वाचनअघिको ७२ घण्टालाई यसअघि मौन अवधि भन्ने गरेकोमा हाल निर्वाचन आयोगले स्थिर समयको रुपमा चित्रण गरेको छ । सोही अनुसार आज बिहिबार मध्यराती १२ बजेसम्म मात्रै उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउनेछन् । स्थिर समय अर्थात मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा सम्मेलन कार्यशाला गोष्ठी आदि गर्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न या निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नहुने निर्वाचन आयोगले जनाएको छ ।
चुनाव प्रचारप्रसार गर्ने आज अन्तिम दिन भएसँगै उम्मेदवारहरुले आफ्नो भागदौडलाई बढाएका छन् । विभिन्न राजनीतिक दलहरुले चुनावको अन्तिम कार्यक्रमको रुपमा आज आमसभाको पनि आयोजना गरेका छन् । सत्तारुढ गठबन्धनले मकवानपुरको निर्वाचन क्षेत्र नम्वर २ को अन्तिम कार्यक्रमको रुपमा आज बिहिबार बिहान ११ बजे मनहरी गाउँपालिकामा आमसभाको आयोजना गरेको छ । मकवानपुर जिल्लामा दुइ वटा प्रतिनिधी सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । मकवानपुर क्षेत्र नम्बर–१ मा कुल मतदाता १ लाख ५० हजार १ सय ५५ जना रहेका छन् । जस मध्यमा पुरुष मतदाता ७४ हजार ९ सय ३० जना रहेका छन् ।
यस क्षेत्रमा महिला मतदाता ७५ हजार २ सय २१ जना रहेका छन् । अन्य ४ जना मतदाता रहेका छन् । उक्त क्षेत्रमा ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका छन् । १४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र २ जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार यो निर्वाचन क्षेत्रमा छन् । जसमा १ जना महिला र १५ जना पुरुष उम्मेदवार रहेका छन् । मकवानपुर क्षेत्र नम्बर–२ मा कुल मतदाता १ लाख ५० हजार ५ सय ७८ जना रहेका छन् । जस मध्यमा पुरुष ७८ हजार ५ सय ९८ जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७१ हजार ९ सय ७९ जना रहेका छन् । अन्य १ जना मतदाता छन् ।
निर्वाचन क्षेत्र नम्वर २ मा १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेका छन् । उक्त क्षेत्रमा ९ वटा राजनीतिक दलका ९ जना उम्मेदवार रहेका छन् भने स्वतन्त्र १ जना गरी कुल १० जना उम्मेदवार बिचमा प्रतिस्पर्धा रहेको छ । मकवानपुर क्षेत्र नम्बर १ को (क) मा ७७ हजार ९ सय ८९ जना मतदाता रहेका छन् । जसमा पुरुष ४० हजार १ सय ११ जना छन् । महिला ३७ हजार ८ सय ७७ जना रहेका छन् । अन्यमा १ जना छन् । मकवानपुर क्षेत्र नम्बर–१ को (ख) मा कुल मतदाता ७२ हजार १ सय ६६ जना रहेका छन् । जसमा पुरुष ३४ हजार ८ सय १९ जना छन् । महिला ३७ हजार ३ सय ४४ जना रहेका छन् । अन्यमा ३ जना छन् । क्षेत्र नम्बर–१ को प्रदेशसभा (क) मा पुरुष मतदाता वढी रहेका छन् । प्रदेश (ख) मा महिला बढी मतदाता रहेका छन् ।
मकवानपुर क्षेत्र नम्बर–२ को (क) मा कुल मतदाता ८३ हजार ९९ जना छन् । यस क्षेत्रमा पुरुष ४२ हजार ८ सय ४३ जना छन् । महिला ४० हजार २ सय ५५ जना छन् । अन्यमा १ जना छन् । क्षेत्र नम्बर–२ को (ख) मा कुल मतदाता ६७ हजार ४ सय ७९ जना रहेका छन् । यस मध्यमा पुरुष ३५ हजार ७ सय ५५ जना छन् । महिला ३१ हजार ७ सय २४ जना रहेका छन् । क्षेत्र नम्बर–२ को दुवै प्रदेशसभा क्षेत्रमा पुरुष मतदाता बढी रहेका छन् ।







