मकवानपुरमा भोट कसरी हाल्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु
मतदाता हुन के चाहिन्छ ?
मंसिर ४ गते आईतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्न १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको हुनुपर्ने व्यवस्था छ । उमेरको योग्यता पुगेका कारण मात्रै मतदानमा भाग लिन पाइँदैन । मतदानमा सहभागी हुन निर्वाचन आयोगले संकलन गर्ने मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ र मतदाता परिचयपत्र अनिवार्य हुनुपर्छ ।
मतदान गर्न कहाँ जानुपर्छ ?
आफ्नो मतदाता नामावली दर्ता भएको स्थानीय तहबाट मतदान गर्न सकिन्छ । स्थानीय तहको कुन मतदान केन्द्रमा आफ्नो नाम समावेश छ भन्ने थाहा पाउन निर्वाचन आयोगको वेबसाइटमा हेर्न सकिने व्यवस्था छ ।
भोट क–कसलाई हाल्नुपर्छ ?
एकजना मतदाताले ४ वटा मतपत्रमा ४ वटा मत दिन सकिनेछ । पहिलो मतपत्रमा प्रतिनिधीसभाको प्रतयक्षतर्फको एउटा र दोस्रो मतपत्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फ एउटा मत दिन सकिन्छ । त्यस्तैगरि तेस्रो मतपत्रमा प्रदेशसभातर्फको प्रत्यक्षतर्फ एउटा र चौथो मतपत्रमा प्रदेशसभाको समानुपातिकतर्फ एउटा गरि कुल ४ वटा मतपत्रमा ४ वटा मत दिन सकिन्छ ।
कस्तो–कस्तो अवस्थामा मत बदर हुन्छ ?
एउटा मतपत्रमा एक भन्दा बढी उम्मेदवार वा पार्टीलाई मत दिएमा बदर हुन्छ । मत संकेत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा पनि मत बदर हुन्छ । स्वस्तिक छाप बाहेक औँठा वा छाप लगाएमा पनि मत बदर हुन्छ । साथै, चिन्ह भएको कोठाबाहिर छाप लगाएमा पनि मत बदर हुन्छ ।
गर्भवती, अशक्त, अपांगता भएका, जेष्ठ नागरिक आदिका लागि बेग्लाबेग्लै लाइन हुन्छ कि एकै लाइनमा बसेर भोट हाल्नुपर्छ ?
गर्भवती, सुत्केरी, अपांगता भएका, ज्येष्ठ नागरिक, अशक्त बिरामी, किरियामा बसेका मतदाताहरूले लाइन नबसी मतदान गर्न सक्ने छन् । मतदान केन्द्रमा पुरुष र महिला मतदाताको लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको हुन्छ । लाइनअनुसार मतदान गर्ने व्यक्तिको हातको नङमा चिनो लगाउने काम हुन्छ । त्यसपछि तथ्याङ्क फारम भरेर मतपत्र लिएर मतदान गर्न सकिन्छ ।
मतदाताले भोट हाल्नु अनिवार्य छ कि नहाल्दा पनि हुन्छ ?
मतदान आफूलाई मनपर्ने उम्मेदवार छान्न पाउने अधिकार हो । त्यसैले, मतदाताले सकेसम्म आफ्नो उक्त अधिकार प्रयोग गर्नुपर्छ । नेपालमा ‘भोट हाल्दिनँ’ भन्न पाउने अधिकार छैन । २०७० कात्तिक १० गते ‘राइट टु नो भोट’ को माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो । चुनावमा उठेका कुनै पनि उम्मेदवार मतदातालाई मन नपरेमा ‘कसैलाई पनि भोट हाल्दिनँ’ भनेर मत जाहेर गर्न पाउने व्यवस्था नै ‘राइट टु नो भोट’ हो ।
मतदानस्थलमा सुरक्षा व्यवस्था हुन्छ कि हुँदैन ?
सरकारले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन चार वटै सुरक्षा निकाय परिचालन गरेको हुन्छ । चार वटा सुरक्षा निकायमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान पर्छ । मतदान स्थलको शान्ति सुरक्षाका लागि प्रहरीसँगै म्यादी सुरक्षाकर्मी पनि खटाइएको हुन्छ ।
मतदान स्थलमा मोबाइल लैजान पाइन्छ कि पाइदैन ?
मतदान स्थलमा मोबाइल फोन लैजान निषेध गरिएको हुन्छ । त्यस्तै, मतदान स्थलमा कुनै पनि प्रकारका हातहतियार लैजान पाइदैन । घरेलु हतियारहरू जस्तैः चक्कु, खुकुरी तथा अन्य धारिला हतियार पनि मतदानस्थलमा निषेध गरिएको हुन्छ ।
निर्वाचनका दिन सवारी चल्छ कि चल्दैन ?
निर्वाचन आयोगले निर्वाचनका दिन सवारीसाधन बन्द गर्ने जानकारी दिएको छ । तर, मिडिया र उम्मेदवारले सवारी पास लिएर सवारी चलाउन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, आयोगले अत्यावश्यक सामग्री बोकेको एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, शव वाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारी साधन भने चल्न दिने जनाएको छ ।
मतदानको समय कहिलेदेखि कहिलेसम्म हुन्छ ?
मंसिर ४ गते आईतबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्मको समयलाई मतदानको समय तोकिएको छ । मतदाताले आफ्ना नाम रहेको मतदान केन्द्रमा पुगेर मतदानमा सहभागी हुन सक्छन् ।







