लटरम्मेश्वरमा बेपत्ता भएका मोक्तान मृत फेला
हेटौंडा- मकवानपुरमा पछिल्लो समय निकै चर्चित बनेको पर्यटकीय गन्तव्य लटरम्मेश्वरको डाँडामा फेसुबकबाट लाइभ गरेपछि बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।
सामाजिक सञ्जालमा भाइरल भएपछि लटरम्मेश्वरमा जानेहरुको भीड नै लागेको थियो । लटरम्मेश्वर घुम्न पुगेका हेटौंडा उपमहानगरपालिका–८ कमानेका ३५ वर्षका कृष्ण मोक्तान ३ दिनदेखि वेपत्ता भएका थिए । बेपत्ता भएका मोक्तान शुक्रबार लटरम्मेश्वर क्षेत्रमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले मोक्तानको शव फेला परेको र अनुसन्धानका लागि प्रहरी टोली खटिएको जानकारी दिए ।
मोक्तान ३० कार्तिकदेखि लटरम्मेश्वर क्षेत्रबाट फेसबुक लाइभ गरेपछि हराएका थिए । उनको शव भिमफेदी गाउँपालिका वडा नम्बर ८ को इपामा पर्ने लटरम्मेश्वर महादेव जाने भिरमा फेला परेका घटनास्थल पुगेका कमानेका ओम फुयालले जानकारी दिए । अहिले घटना स्थलमा प्रहरी टोली पुगेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यानय मकवानपुरले जनाएको छ ।







