मकवानपुरमा देखिएन मतदातामा उत्साह, कारण के हो ?
हेटौंडा- देशका करिब २० वटा मतदान केन्द्रमा तोडफोड, झडप, आगजनीलगायतका घटना भएपनि मकवानपुरका १० वटै पालिकामा रहेका मतदान केन्द्रहरुमा शान्तिपूर्ण तवरले मतदान प्रक्रिया पूरा भएको छ ।जिल्लास्थित ३ सय ६६ वटा मतदान केन्द्रमा कुनै गम्भिर प्रकृतिका घटना नभई मतदान सकिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ । जिल्लाका कुनैपनि मतदान केन्द्रमा समस्या नभएको र शान्तिपूर्ण ढंगले सम्पन्न भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिए । तर, शान्तिपूर्ण मतदान भएपनि मतदाताहरुमा उत्साह भने नदेखिएको हो ।
स्थानीय तह निर्वाचनमा जस्तो मतदाताहरुमा मतदानका लागि उत्साहपूर्ण सहभागिता नरहेको पाइएको छ । स्थानीय तह निर्वाचनमा खसेको मतभन्दा धेरै कम मत आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खसेको छ । हेटौंडा उपमहानगरपालिका–३, स्थिा महेन्द्र किरण मतदान केन्द्रमा गत ३० वैशाखमा भएको निर्वाचनमा ३ हजार ३ सउ ७५ मत खसेको थियो । तर, आइतबार भएको निर्वाचनमा ३ हजार १ सय मात्रै मत खसेको छ ।
महेन्द्र किरण मतदान केन्द्रमा खसेको मतको अवस्था एक उदाहरण मात्रै हो । तर, जिल्लास्थित अधिकांश वडाहरुमा स्थानीय तहमा खसेको मत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खसेको छैन् । २०७४ को निर्वाचनमा जिल्लाभरबाट करिब ६५ प्रतिशत मत खसेको थियो । त्यसको पाँच वर्षपछि करिब ६० प्रतिशतको हाराहारीमा मत खसेको छ । विगतकै निर्वाचनलाई तुलना गर्दा करिब पाँच प्रतिशत मत किन खसेन् ? यो प्रश्न अहिले मकवानपुरभर चर्चाको विषय बनेको छ । साझाकुराले मतदानमा किन उत्साहजनक हुन सकेन् भनेर करिब २० जनासँग कुराकारी गरेको थियो ।
जसमध्ये अधिकांशले पुराना राजनीतिक दल र पुरानै नेताप्रति मतदातामा देखिएको वितृष्णा कारण रहेको प्रतिक्रिया दिएका थिए । मुलुकमा राजनीतिक परिवर्तनहरु भएपनि राजनीतिक दलहरुले विकास र जनताप्रति अपेक्षाअनुसारको काम नगरेपछि मतदाता निराश बनेको उनीहरुले प्रतिक्रिया दिएका थिए । जनसंख्या बढेर मतदाताहरुको संख्यासमेत वृद्धि भएको अवस्थामा मत बढ्नु पर्ने तर झन कम कसरी भयो ? मकवानपुरगढी गाउँपालिका–५ का उज्वल देवकोटा प्रश्न गर्छन् । हेटौंडा–६ निवासी स्वास्थ्यकर्मीसमेत रहेका उत्सव चौलागाई पुराना राजनीतिक दल र पुरानै नेताहरुको कारण मतदातामा वितृष्णा देखिएको बताउँछन् ।
उनले विगतका निर्वाचनमा जनतामाझ गरेको प्रतिबद्धता पूरा नगरेका कारण मतदातामा वितृष्णा देखिएको बताए ।मकवानपुरको दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ६० जना भन्दा बढी उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन् । मकवानपुरमा ३ लाख ७ हजार ३३ मतदाता छन् । जसमा १ लाख ५३ हजार ५ सय २८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना छन् । तर, कुल मतदाताको आधाले मात्रै मतदान गरेका हुन् ।
जनतामा देखिएको वितृष्णा ब्यालेटमा देखिएको छ । मतदानको समय ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको थियो । जसमा स्थानीय तहमा जस्तो मतदाताहरुको लाइन थिएन् । जिल्लाका थुप्रै मतदान केन्द्रहरुमा मतदाताको बाक्लो लाइन देख्न नसकिएको हो । ‘स्थानीय तह निर्वाचनमा मतदाताहरुमा अत्यन्तै उत्साहजनक सहभागिता थियो । मतदाताहरु तछाडमछाड गरेर मत हाल्न लाइनमा देखिनुहुन्थ्यो ।
तर, यस निर्वाचनमा मैले त्यो देखिन । मतदाताहरुको बाक्लो लाइन पनि थिएन् । अर्थात् किन भोट हाल्न जानु भनेजस्तो देखियो,’ काठमाडौंबाट मतदानकै लागि मकवानपुर आएका रुपचन्द्र महर्जनले भने । उनले भोट हालेर के नै हुँदोरहेछ भन्ने विचार मतदातामा देखिएको उनी बताउँछन् ।सचेत र शिक्षित मतदाता रहेको भनिएको हेटौंडाले पनि वितृष्णा देखाएको पाइएको छ । हेटौंडाकै धेरै मतदाता रहेका वडाहरुमा चुनावी चहल पहलथिएन । ‘मतदातामा चुनावी रौनक थिएन । मतदाताभन्दा दलका रमिते बढी थिए । ‘बिहानदेखि नै खाली थियो, साँझसम्म पनि खालै नै देख्छु । स्थानीय तह निर्वाचनमा लाइन एकछिन टुटेको थिएन्,’ हेटौंडा–५ की दुर्गा चौलागाईंले भनिन् ।
सुरक्षाकर्मीहरुलाई समेत व्यवस्थापनमा कठिनाई नहुने गरी मतदान सकिएको प्रहरीहरुले प्रतिक्रिया दिएका छन् । हेटौंडा–५, स्थित बालज्योति माविमा सुरक्षामा खटिएका प्रहरीहरु फुर्सदले बसिरहेका देखिन्थे । दुई जना म्यादी प्रहरीले नै लाइनमा रहेका मतदाताहरुलाई व्यवस्थापन गरिरहेको थिए । यसर्थमा पनि सुरक्षाकर्मीहरुलाई व्यवस्थापनमा सहज भएको बुझ्न सकिन्छ ।
‘नागरिहरुमा भोट हाल्ने चासो देखिएन् । मकवानपुरमा करिब ७० प्रतिशत मत खस्नु पथ्र्यो । यतिधेरै मतदान केन्द्र थिए । विकट ठाउँहरुमा पनि मतदान केन्द्रहरु थिए । मतदानको लागि सहज पहुँच थियो । तर पनि मत सोचेअनुसार नखस्नु भनेको नागरिकहरु सन्तुष्ट छैनन् भन्ने देखिनु हो,’ शिक्षक अनिल धमला सुनाउँछन् । ‘राजनीतिक पार्टीप्रति वितृष्णा छ । समस्यै समस्याले ग्रस्त छ जिल्लादेखि गाउँसम्म । नेताहरुकै आसेपासेको हालीमुहालीले पनि जनता निराश भएका हुन् । नेताका पछि लाग्नेहरु रातारात धनाढ्य बनेकै कारण जनता निराश भएको भन्छु म ।
दिनभर लाइनमा बसेर भोट हालेर जितायो । लुट्ने १० वर्षलाई पुग्ने काम गर्ने अनि ५ वर्षमा मुख देखाएर जनताले कसरी विश्वास गरुन्,’ श्याम तिमल्सिनाले दुःखेसो पोखे ।
मत कम खस्नुमा यातायातको सुविधा नहुनु पनि कारणहरुमध्ये एक हो । स्थानीय क्षेत्रमा बसोबास गर्ने मतदाताले मतदान गर्न रुचि देखाए पनि सो क्षेत्रभन्दा बाहिर बसोबास गरिरहेकाहरुले मतदानमा रुचि नदेखाएको पाइएको छ ।
जिल्लाबाहिर काममा गएका मतदाताहरु पनि मतदानकै लागि नफर्किएको पाइएको हो । ‘स्थानीय तहको निर्वाचनमा आफ्नै गाउँठाउँका आफन्त, चिनजान उठ्ने भएकाले सबै जना गाउँ आउने गरेका थिए । अहिलेको चुनावमा स्थानीय तहमा जस्तो समन्वय भएको देखिँदैन् । त्यसैले पनि मत कम खसेको हो,’ विष्णु सिलवाल बताउँछन् ।







