मकवानपुरमा भोट हाल्ने एक लाख ७८ हजार जना मात्रै

साझाकुरा
२०७९ मंसिर ५, सोमबार १२:५१

हेटौंडा- मकवानपुरमा रहेका १ सय ६७ वटा मतदान स्थलबाट कुल मतदातामध्ये आधा मतदाताहरुले मात्रै भोट हालेका छन् ।मकवानपुरमा शान्तिपूर्ण तवरमा आमनिर्वाचन–२०७९ को मतदान सकिए पनि विगतको निर्वाचनमा भन्दा मतदान गर्नेहरुको संख्या घटेको हो । देशका विभिन्न मतदान केन्द्रहरुमा तोडफोड, आगजनीलगायतका घटना भएपनि मकवानपुरका शान्तिपूर्ण मतदान भएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले मकवानपुरमा शान्तिपूर्ण ढंगबाट मतदान प्रक्रिया सम्पन्न भएको जानकारी दिए । उनले मतदान केन्द्रमा कुनै प्रकारको घटना हुन नदिएको बताए । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी मतदान प्रक्रियामा जिल्लाका कुल मतदातामध्ये आधा भन्दा बढीले मतदान गरेका छन् । मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले ५९ प्रतिशत मत खसेको जानकारी दिए । २०७४ को निर्वाचनमा मकवानपुरबाट ६५ प्रतिशत खसेको थियो ।

मकवानपुरमा ३ लाख ७ हजार ३३ मतदाता छन् । जसमा १ लाख ५३ हजार ५ सय २८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना छन् । तर, कुल मतदाताको आधाले मात्रै मतदान गरेका हुन् । यसवर्षका निर्वाचनमा मतदाता संख्या बढेपनि जिल्लामा पाँच वर्षपछि मत दिनेहरु ६ प्रतिशतले घटेका हुन् । आमनिर्वाचन–०७९ मा कुल एक लाख ७८ हजार २ सय ८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जसमध्ये मतदान गर्नेमा पुरुष ९२ हजार ८ सय ७७ जना, महिला ८५ हजार ४ सय जना र अन्य ५ जना रहेका छन् ।मकवानपुरको दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ६० जना भन्दा बढी उम्मेदवार प्रतिस्पर्धाको मैदानमा थिए । मतदान सकिएसँगै जिल्लाका सबै मतदान केन्द्रबाट मतगणनाका लागि मतपेटिकाहरु सदरमुकाम हेटौंडा ल्याइएको छ । मतगणना हेटौंडा–२, स्थित सिदार्थ माविबाट गरिँदैछ ।

मतगणना स्थलमा तारजाली र सिसिक्यामेरा जडान गरेर मतगणनाका लागि तयारी अवस्थामा राखिएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत् हेटौंडा उपमहानगरको पनि सिदार्थ माविबाटै गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*