जो परिर्वतनको लागि भोट हाल्न पुगे…
हेटौंडा-एउटा हातले लौरो टेकेका ८७ वर्षीय वृद्वलाई डोहोर्याउदै थिइन्, एक वृद्वा । उनीहरुलाई देख्ने बितिक्कै वरिपरिका मान्छेहरु यता आउनुहोस् यता भनेर बोलाउदै थिए । हिड्न मुस्किल परिरहेको उनीहरु अकमक्क परेको देखिन्थे । यो दृश्य, आईतबार बिहान करिव ११ बजेतीर हेटौंडा–३ बसामाडिस्थित महेन्द्रकिरण मावीमा देखिएको हो । एउटा हातले लौरो टेकेका ८७ वर्षिय वृद्वलाई डोहोर्याएर ल्याउने थिइन्,उनको ६७ वर्षिया श्रीमति ।
दुई दम्पती विद्यालयको गेटबाट भित्र छिर्नासाथ मतदानमा खटिएका कर्मचारीहरु यता यता भनेर बोलाउदै थिए । तर, लौरो टेकेर आएका वृद्व राम्ररी हिड्न सकिरहेका थिएनन् । उनलाई लौरासँगै आफ्नो हातले भरोसा दिइरहेकी उनकी श्रीमति सुस्केरा मार्दै हिड्दै थिइन् । उनीहरु भोट हाल्नको लागि आधा घण्टा हिडेर आएका थिए । यसरी कतिपटक भोट हालियो भन्ने यी दम्पतीलाई याद छैन । ‘भोट त पहिलेदेखी अहिलेसम्म कति हालियो थाहै छैन’, एउटा हातले घाम छेक्दै वृद्वाले भनिन् ।
भोट हालेर आफ्नो जीवनमा हालसम्म कुनै परिवर्तन नआएपनि अब केहि परिवर्तन आउछ कि भन्ने आश भएको उनले बताइन् । यो पटकको भोटले केहि परिर्वतन ल्याउने विश्वास लिएको उनी बताउँछिन् । ‘अहिलेसम्म जितेका नेताहरुले केहि गरेका त छैनन् । अधिकारको लागि भन्यो भोट हाल्यो’, उनले गुनासो गरिन् । अब चुनाव जित्ने नेताहरुले आफूहरु जस्तो दुखी गरिवको लागि काम गर्दिए हुन्थ्यो भन्ने अपेक्षा रहेको उनले सुनाइन् । हेटौंडा–३ लेवटमा डेरामा बस्दै आएका य िदम्पतीको छोराहरु काठमाडौं बस्छन् ।
१८ वर्षअघि श्रीमान बिरामी परेपछि घरजग्गा सबै बेच्नु परेको उनले बताइन् । त्यो बेलादेखी आफूहरु भाडामा बस्दै आएको उनको भनाई छ । ‘उहाँ बिरामी हुनुहुन्छ । औषधी पनि खाईरहनुपर्छ । आउने बाटो छैन, त्यही भएर म बालुवा चाल्ने काम गर्छु’,उनले भनिन् ‘श्रीमानको वृद्वभत्ता पनि आउँछ र खान लाउन पुग्छ ।’ ७ वर्षदेखी उनले बालुवा चाल्ने काम गर्दै आएकी छिन् ।







