मकवानपुर–२: जहाँ कहिल्यै गैरकम्युनिष्टले जितेनन्

साझाकुरा
२०७९ मंसिर ६, मंगलवार १०:५५

हेटौंडा- मकवानपुर–२ निर्वाचन क्षेत्र जिल्लाको हेटौंडा हुँदै पश्चिमी क्षेत्रदेखि, उत्तरी क्षेत्रमा राजधानी काठमाडौंसँग सीमाना जोडिएको र दक्षिणमा मकवानपुरगढी गाउँपालिकासम्म पर्छ ।जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्दा २ नम्बर क्षेत्रमा हेटौंडाका १, ३, ११ र १९ वडा, मकवानपुरगढीको ५, ६, ७ र ८ नम्बर वडा, मनहरी, राक्सिराङ, कैलाश, थाहा नगरपालिका, इन्द्रसरोबर र भीमफेदी गाउँपालिका समेटिएको छ ।

गरिबीको चपेटामा बाँच्दै आएका लोपन्मुख जाती वनकरिया, सिमान्तकृत चेपाङदेखि, तामाङ, क्षेत्री र बाहुनहरुको बाक्लो बसोबास रहेको यस क्षेत्र पुर्वाधारसँगै जनताको आधारभूत आवश्यकताको विकासमा पछाडि छ । स्वास्थ्य, शिक्षा यस क्षेत्रमा अझै समस्याबनिरहेको छ । पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, पुरानो जलविद्युत आयोजना कुलेखानी र मानवनिर्मित सबैभन्दा ठूलो जलाशय इन्द्रसरोवर, जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यदेखि काठमाडौं उपत्यकामा तरकारी निर्यातमा प्रमुख भूमिका खेलेको पालुङ क्षेत्र, सम्भावित सुरुङमार्ग आयोजना, काठमाडौं–तराई द्रुतमार्ग पनि यही क्षेत्रमा पर्छ

देशका ठूला विकास परियोजनासँगै कृषि र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ ले आइतबार भएको निर्वाचनबाट नयाँ प्रतिनिधि पाउँदैछ । निर्वाचनमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडा, एमालेका महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली र राप्रपाका राजन मैनालीलगायत १० जना उम्मेदवार थिए ।

जसमध्ये सोमबारदेखि सुरु मतगणनाअनुसार खतिवडा, बर्तौला र पराजुली प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएका छन् । यस क्षेत्रबाट कम्युनिष्टहरुको लामो समयदेखि
बिरासत छ । जहाँ ०४६ सालको बहुदल स्थापना अघि र पछि पनि गैरकम्युनिष्टहरुले जित्न सकेनन् । कम्युनिष्टहरुको दबदबा आजदेखिको हैन् । २ नम्बर क्षेत्रमा हालसम्म कम्युनिष्ट उम्मेदवारहरुलाई काउन्टर दिनसक्ने उम्मेदवार पनि थिएनन् ।

जसकारण मतपरिणामको सुरुवाती अवस्थालाई हेर्दा २ नम्बर क्षेत्रबाट पुनः कम्युनिष्ट उम्मेदवार नै आउने निश्चित प्रायः छ । २ नम्बर क्षेत्र कम्युनिस्टहरुको ‘महागढ’का रुपमा परिचित छ । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले मात्रै यहाँ ३ पटक कम्युनिष्ट उम्मेदवारसँग हारिन् । जसकारण उनले हालसम्म प्रत्यक्ष निर्वाचित हुने अबसरसमेत पाएकी छैनन् । यस निर्वाचनमा भने डीनाले निर्वाचन क्षेत्र परिवर्तन गरी १ नम्बरबाट उठेकी छन् ।

२ नम्बर क्षेत्रमा कम्युनिष्टहरु निरन्तर विजय हुनुमा रुपचन्द्र विष्ट (रुदाने)को प्रभाव हो । थाहा अर्थात मान्छेमा चेतना जनाउने अभियान चलाएका रुपचन्द्र विष्टले २ नम्बर क्षेत्रको थाहा नगरपालिकामा राजनीति गर्थे । रुदाने अर्थात रुपचन्द्र–दामन–नेपाल । दामनमा क्षेत्रमा थाहा अभियान चलाएका रुपचन्द्रले आफूलाई रुदाने भनेर चिनाउँथे । जनमुखी नेताका रुपमा परिचित रुपचन्द्रले २०२९÷०३० सालतिरबाट दामन क्षेत्रमा थाहा आन्दोलन सुरु गरेका हुन् ।

‘चेतनाहीन नागरिकको चेतनासम्पन्न नागरिकमा रुपान्तणमार्फत राजनीतिक र सामाजिक जागरण नै थाहा आन्दोलन थियो,’ थाहा नगरपालिकाको पूर्वप्रमख लवशेर विष्टले भने ।‘जातभन्दा जनता, नाताभन्दा न्याय र स्वास्थ्यभन्दा सत्य ठूलो हो’ भन्ने स्व. विष्टले आर्दश छोडेका थिए । उनी क्रान्तिकारी थिए । रुपचन्द्रले आफूलाई कम्युनिस्ट नेताका रुपमा चिनाउने गरेको लवशेरले बताए । २०३८ सालको निर्वाचनमा तत्कालीन मालेले पञ्चायतीहरुसँग मिलेर जनपक्षीय उम्मेदवार उठाएपछि रुपचन्द्रले पनि आफू जनमुखी उम्मेदवार भएको भन्दै निर्वाचन लडेका थिए । उनले निर्वाचन जिते । निरंकुश पञ्चायती शासनको जग हल्लाउने विष्ट थिए । मकवानपुरको वामपन्थी विरासत रुपचन्दको थियो ।
रुपचन्द्रले छोडेको छापकै कारण हालसम्म पनि प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा कम्युनिष्ट नेताहरुको रजगज छ । रुपचन्द्रलाई सबैले अति विश्वास गर्थे । महिलामाथि हुने हिंसा, लुटपाट, ठगी, कामचोरहरुविरुद्ध उनले अप्रेसन नै चलाउँथे । २०४६ मा दलीय व्यवस्था सुरु भएपछि रुपचन्द्रकै विरासतमा बढ्दो कम्युनिष्टप्रतिको लोकप्रियताले हालसम्म पनि रुपचन्द्रको क्षेत्रमा गैरकम्युनिस्टहरुको प्रवेश भएको छैन । रुपचन्द्रलाई हेरेर जनताले कम्युनिस्टप्रति विश्वास गर्ने गरेकाले कम्युनिष्टहरु निरन्तर जित्दै आएको थाहाका पूर्वप्रमुख लवशेर बताउँछन् ।

२ नम्बर क्षेत्रमा जनआन्दोलन २०४६ बाट प्रजातन्त्र पुनःस्थापना भएपश्चातका सबै निर्वाचन कम्युनिस्टले मात्रै जितेका छन् । २०४८ को आमनिर्वाचन, २०५१ को मध्यावधि र २०५६ को आमनिर्वाचनमा जिल्लामा तीनवटा निर्वाचन क्षेत्र थिए । जसमध्ये २ र ३ नम्बर क्षेत्र हालको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पर्छ । २०४८ सालको आमनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई हराउँदै तत्कालीन २ नम्बर क्षेत्रबाट विरोध खतिवडा र ३ नम्बर क्षेत्रबाट हिरण्यलाल श्रेष्ठ विजयी भए ।

नेपाली कांग्रेस नेतृत्वको सरकार ढलेका कारण राजा वीरेन्द्रले नयाँ चुनावको घोषणा गरेपछि २०५१ कात्तिक २९ मा भएको प्रतिनिधिसभाको मध्यावधि निर्वाचनमा पनि २ नम्बर क्षेत्रबाट खतिवडा र श्रेष्ठ नै विजयी भए ।२०५६ को आमनिर्वाचनमा २ नम्बर क्षेत्रबाट उनै खतिवडा विजयी भए भने ३ नम्बर क्षेत्रबाट स्वर्गीय बिरबहादुर लामा निर्वाचित भएका थिए । २०४८, २०५१ र २०५६ मा भएको निर्वाचन जितेका खतिवडा, श्रेष्ठ र लामा तीनै जना नेकपा –एमालेका थिए । २८ चैत २०६४ सालको संविधानसभा निर्वाचनमा भने जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भए ।

०६४ को राजनीतिक परिवर्तनले पनि यस क्षेत्रमा कम्युनिष्ट उम्मेदवारहरुको अपराजित यात्रा रोक्न सकेन् ।तत्कालीन २ र ४ नम्बर क्षेत्र हालको प्रतिनिधिसभा क्षेत्र नम्बर २ भित्र थिए । २०६४ मा २ नम्बर क्षेत्रबाट प्रेमबहादुर पुलामी र ४ नम्बर क्षेत्रबाट कुमारी मोक्तान विजयी भएका थिए । २०७० सालमा भएको पुनःसंविधानसभा निर्वाचनमा भने चारवटै निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पराजित बन्न पुगे । त्यतिबेला २ नम्बर क्षेत्रबाट सुभाषचन्द्र ठकुरी र ४ नम्बर क्षेत्रबाट राजाराम स्याङतान निर्वाचित भएका थिए । ठकुरी र स्याङतान एमालेका अर्थात कम्युनिष्ट उम्मेदवार थिए ।

२०७० सालकै निर्वाचन हो, जहाँबाट इन्द्रबहादुर बानियाँले चुनाव जितेर मकवानपुरको इतिहासमै पहिलो पटक कांग्रेसले खाता खोलेको थियो । २ नम्बर क्षेत्रबाट २०७० सालकै निर्वाचनमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत पराजित भए । ०७० मा पुनः संविधानसभाको निर्वाचन हुँदा मकुवानपुर–२ बाट उम्मेदवार बनेका श्रेष्ठ तत्कालीन एमाले उम्मेदवार सुवासचन्द्र ठकुरीसँग पराजित भएका हुन् ।

संघीयता कार्यान्वयनसँगै २०७४ सालको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेबाट विरोध खतिवडा पुनः विजयी भएका थिए । खतिवडा हाल एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी सदस्य तथा यस निर्वाचनको गठबन्धनबाट उम्मेदवा समेत हुन् ।नेपाली कांग्रेस सहमहामन्त्री ‘डीना’ पनि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा खतिवडासँग पराजित भएकी थिइन् । १ नम्बर क्षेत्रबाट कमल थापालाई हराउँदै एमालेकै कृष्ण दहाल निर्वाचित भएर संसद छिरेका थिए । संघीय निर्वाचनमा हालको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गैरकम्युनिस्ट उम्मेदवारहरुले निर्वाचन जितेका छैनन् ।

२ नम्बर क्षेत्रमा कम्युनिस्टबाहेकका नेताहरुले हालसम्म नजितेको माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा थाहा नगरका निवर्तमान प्रमुख लवशेर विष्टले बताए । अहिलेसम्म एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुले मात्रै जित्दै आइरहेको उनले बताए । उनले २ नम्बर क्षेत्रमा गैरकम्युनिस्टहरुलाई चुनाव जित्न सहज नभएको बताए ।
२ नम्बर क्षेत्रमा सबैभन्दा ठूलो जनमत एमालेको छ । एमालेपछि ठूलो जनमत बोकेको कांग्रेस र माओवादी छन् ।

एमालेहरुको आधार क्षेत्र मनहरी, कैलाश, थाहा, इन्द्रसरोवर, भीमफेदी र मकवानपुरगढी गाउँपालिका हो । माओवादी केन्द्रको आधार क्षेत्र थाहा नगरपालिका, भीमफेदी र मनहरी हो । २ नम्बर क्षेत्रमा कांग्रेसको राम्रो जनमत राक्सिराङ, मनहरीमा मात्रै हो । २०७४ को स्थानीय तह निर्वाचनमा हेटौँडादेखि मकवानपुरगढीसम्म (राक्सिराङबाहेक) सबै कम्युनिस्टबाट प्रमुख निर्वाचित भएका थिए ।

गत २० वैशाखमा भएको निर्वाचनमा गठबन्धनका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को साथमा नेपाली कांग्रेसले मनहरी, कैलाश, राक्सिराङ र मकवानपुरगढी जित्यो ।गैरकम्युनिष्टले जितेनन्

यसमा तपाइको मत

Your email address will not be published.


*