किशोरी आमाको संख्या बढ्दो अवस्थामा

साझाकुरा
२०७९ मंसिर ७, बुधबार ११:४७

हेटौंडा-कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । त्यस्तो सन्देश दिने जिङल सुने पनि व्यवहारमा भने कार्यान्वयन भएको छैन । सानै उमेरमा आमा बन्ने किशोरीको संख्या भने अहिले पनि कम छैैन । सानै उमेरमा आमा बन्नेको संख्या धेरै रहेको अस्पतालको तथ्याङ्कले पनि देखाउँछ ।हेटौंडा अस्पतालमा मात्रै ६ महिनामा १ सय ३२ जना किशोरी आमा बनेका छन् ।

बैशाख महिनामा २२ जना, जेठ महिनामा १७ जना, असारमा ३० जना, साउन महिनामा १८ जना, भदौं महिनामा २६ जना र असोज महिनामा १९ जना गरी ६ महिनामा १ सय ३२ जना किशोरी आमा बनेका अस्पतालको तथ्याङ्क छ ।

जेठ महिनादेखि असोज सम्म कुल १ हजार ५ सय ४६ जना गर्भवती हेटौंडा अस्पतालमा सुत्केरी भएका छन् । हेटौंडा अस्पतालमा जेठ महिनामा २० वर्षभन्दा कम उमेरका १७ जना किशोरी आमा बन्दा १ सय ७६ जना गर्भवती सुत्केरी भएका थिए । यस्तै, हेटौंडामा असार महिनामा ३० जना किशोरी आमा बन्दा २ सय ९८ गर्भवती सुत्केरी भएका थिए । २ सय ६ जना सामान्य अवस्थामा सुत्केरी हुँदा ७७ जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो । १५ गर्भवतीको जटिल अवस्थाका सुत्केरी गराइएको थियो ।

असार महिनामा ३० जना गर्भवतीले सुरक्षित गर्भपतन गराएको हेटौंडा अस्पतालले जनाएको छ । गत साउन महिनामा ३ सय ४८ जना गर्भवती सुत्केरी हुँदा १८ जना किशोरी गर्भवती सुत्केरी भएको अस्पतालको तथ्याङ्क छ । २ सय ५० जना सामान्य अवस्थामा सुत्केरी हुँदा ८० जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो । भदौं महिनामा मात्र २६ जना किशोरी आमा बनेका छन् । भदौ महिना कुल ३ सय ६९ जना गर्भवती अस्पतालमा सुत्केरी भएका छन् । २ सय ८४ जना सामान्य अवस्थामा सुत्केरी हुँदा ५५ जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो ।

यस्तै, ४ जना जटिल अवस्थामा सुत्केरी भएका थिए । भदौं महिना २७ जनाले सुरक्षित गर्भपतन गराएको अस्पतालले जनाएको छ । यस्तै, असोज महिनामा १९ जना किशोरी आमा बनेका छन् । असोज महिनामा कुल ३ सय ५५ जना गर्भवती सुत्करी भएको अस्पतालले जनाएको छ । २ सय ५३ जना समान्य अवस्थामा सुत्केरी हुँदा १२ जना जटिल अवस्थामा सुत्केरी भएका थिए । यस्तै, ७१ जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो । असोज महिनामा ३४ जनाले गर्भपतन गराएका थिए ।

सानै उमेरमा बसेको गर्भ र सानै उमेरमा गराएको प्रसुतिले शारीरिक रुपमा मात्र नभई, मानसिक, सामाजिक समस्या र स्वतन्त्रताको कमी हुनेजस्ता सामाजिक बन्धनले गर्दा किशोरीमा डिप्रेसन (मानसिक चिन्ता) हुन सक्ने तथा किशोरावस्थामा नै गर्भवती हुनुपरेमा गर्भको जटिलता बढी हुने चिकित्सक बताउँछन् । सानै उमेरमा प्रसुति गराउँदा शारीरिक अपरिपक्वताले बच्चा जन्माउन नसक्दा आमा र बच्चाको ज्यान जोखिमपूर्ण रहन्छ ।

सामाजिकरुपमा पनि अपहेलना हुने, सानै उमेर भएकाले घर व्यवहार धान्न नसक्दा र सुत्केरी भएपश्चात् ध्यान दिनुपर्ने विषयलाई नबुझ्दा विविध समस्या आउन सक्ने
डाक्टरको भनाइ छ । २० वर्षभन्दा कम उमेरमा गर्भवती हुँदा गर्भमा रहने बच्चामा रक्तअल्पताको जोखिम रहन्छ । सानै उमेर गर्भवती हुँदा गर्भमा रहेको बच्चा र गर्भवती आमाको ज्यान समेत जानसक्ने खतरा रहन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*