एमालेमाथि निरन्तर गालीगलौजले खतिवडालाई कति घाटा ?
हेटौंडा- पूर्वस्वास्थ्य मन्त्री विरोध खतिवडाको ३१ वर्षे चुनावी प्रतिस्पर्धामा पूर्ण बिराम लागेको छ । आफ्नै चेला महेश बर्तौलासँग मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट चुनाव लड्दा उनी ४ हजार ५ सय २० मतान्तरले पराजित भए । एमालेमा रहँदा उठेकामध्ये सबै निर्वाचन जित्ने इतिहास बनाएका खतिवडालाई एमाले छोडेपछिको पहिलो प्रतिस्पर्धामै बज्रपात आइलाग्यो । जिवनभर संघर्ष गरेको र यही पार्टीका कारण एउटा इतिहास नै बनाएका खतिवडाले नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोजेका थिए ।
गुटको राजनीतिले थलथल परेको एमालेमा रहँदा पनि माधव नेपाल पक्षमा रहेका उनले कहिल्यै गुट फेरेनन् । जिल्लामा पनि एमालेभित्र माधव नेपाल गुटको नेतृत्व उनले गरेका थिए । खतिवडा भएकै कारण एमाले मकवानपुरमा नेपाल समूहको राम्रो पकड थियो । केपी शर्मा ओली एमालेको नेतृत्वमा आइसकेपछि पनि खतिवडाले जिल्लाको नेतृत्वमा आफ्नो समूहलाई निर्णायक भूमिकामा राख्न सकेका थिए । पछिल्लो पार्टी जिल्लाको अधिवेशनमा मुनु सिग्देलले ओली पक्षका उम्मेदवारलाइ हराएकी थिइन् । पदाधिकारीमा पनि खतिवडा समूहकै वर्चश्व थियो ।
खतिवडा यति प्रभावशाली थिए की, २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाका १० वटा स्थानीय तहमा जितेकोभध्ये उनको समूहका ४ जनाले प्रमुख, ३ जनाले उपप्रमुख जितेका थिए । अर्थात, मकवानपुरबाट प्रतिनिधित्व गरी केन्द्रीय राजनीति गर्दै आएका नेतामध्ये खतिवडा प्रभावशाली
थिए । २०४८ सालदेखि संसदीय निर्वाचन जित्दै आएका खतिवडाका गाउँगाउँमा आफूले भनेको कार्यकर्ता छन् ।
जिल्लाका अधिकांश क्षेत्रमा उनी समूहका प्रभावशाली स्थानीयदेखि क्षेत्रीय नेताहरु पनि छन् । एमाले छोडेर जाँदा पनि खतिवडाको प्रशंसा गर्ने एमालेकै स्थानीय नेताहरु अझै भेटिन्छन् । केन्द्रमा राजनीति गरिरहेका नेताहरुको कार्यकर्ता तहसम्म सम्बन्ध नबनाएको आरोप धेरै नेताहरुले खेप्दै आएका छन् । तर, खतिवडा यस आरोपबाट अलि टाढै थिए । केन्द्रीय राजनीतिमा सक्रिय भए पनि खतिवडा कार्यकर्ता तहसम्म पुगेर नजिकको सम्बन्ध बनाइराख्थे । कार्यकर्तालाई चाँडै नजिक बनाइहाल्ने खुबी उनमा थियो ।
कुराकानीबाट हरेकलाई प्रभाव बनाउने उनको व्यवहार थियो । काठमाडौंबाट गृहजिल्ला आउँदा घरमा नेता कार्यकर्तासँग नियमित भेटघाट र बेलाबखत गाउँपनि पुगिरहन्थे । जस कारण उनलाई अन्य नेतालाई लाग्ने गरेको ‘चुनाव जितेपछि गाउँ नफर्कने’ आरोप थिएन् । तर, खतिवडाले एमालेका पुराना नेता र कार्यकर्तासँगको विगतको सम्बन्धमा निर्वाचनमा फाइदा लिन नसकेको देखिएको छ ।
खतिवडाले गठबन्धनप्रति पूर्ण विश्वास गर्नु र एमालेकै पुराना नेता र कार्यकर्तासँगको सम्बन्धलाई फाइदामा लिन नसक्नुले उनलाई पराजयको यात्रामा लगेको विश्लेषण हुन थालेको छ । उनले निर्वाचनमा एमालेका कार्यकर्तालाई खुशी बनाएर मत तान्नुपर्नेतर्फ ध्यान नदिएको देखिएको छ । तर, खतिवडाले एमालेका कार्यकर्ताको मत तान्न तिर नभई चिड्याउनतिर लागेकाले उनलाई जित निकाल्न सहज नभएको विश्लेषण भएको हो । पार्टी विभाजनसँगै नेकपा (एकीकृत समाजवादी)मा पुगेकाले उनको जिल्लामा राजनीतिक शक्ति घटेको थियो ।
जिल्लामा आफ्नै पार्टीभित्र निरन्तर क्षयीकरण भइरहँदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आयो । जिल्लाको क्षेत्र नम्बर २ बाट खतिवडा गठबन्धनका साझा उम्मेदवारका रुपमा अगाडि आए । प्रभावशाली खतिवडासँग एमालेले पनि विद्यार्थी राजनीतिबाट उदाएका महेशकुमार बर्तौलालाई उम्मेदवार बनाएको थियो । निर्वाचन नजिकिएसँगै खतिवडा र बर्तौलो आ–आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका थिए । चुनावी सभामा उम्मेदवारहरुले आफ्ना विकास एजेण्डाका बारेमा मतदाताहरुलाई प्रष्ट पार्ने गर्दछन् ।
तर, खतिवडा हरेक चुनावी सभामा विकास एजेण्डा थोरै, एमालेप्रति आक्रामक गालीगलोजमा धेरै उत्रिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्नेदेखि एमालेका कार्यकर्तालाई बाँदरसम्म भन्न भ्याए । चार पटक एमालेबाटै संसद जितेका खतिवडाले मनहरी गाउँपालिकामा भएको चुनावी सभामा एमालेका कार्यकर्तालाई बाँदर भनेको भन्दै धेरैले आलोचना गरे । हात्तिको डर रहेको मनहरीस्थित मध्यवर्ती क्षेत्रमा तारबार लगाएपछि बँदेलको मासु खान नपाइने चिन्ता गरेको भिडियोदेखि एमालेका कार्यकर्तालाई बाँदर भनेको भिडियो भाइरल नै भएको थियो ।
खतिवडाले आफूलाई हराउन एमाले अध्यक्ष ओलीले १० करोड पठाएकोदेखि आफूलाई जिताउन एमालेकै वडा अध्यक्षहरु लागेको भन्दै अप्रमाणित आरोपहरु पनि चुनावी सभामा गरे ।एमालेले कमल थापालाई १० करोडमा टिकट बेचेकोसमेत आरोप लगाए । उनी त्यतिमै रोकिएनन् एमालेलाई देशबाट पत्तासाफ गराउनेसम्म भन्न भ्याए । मनहरीका एमाले नेता जयराम अर्यालले एमालेलाई गालीगलौज गरेकै कारण खतिवडाले निर्वाचन हारेको बताउँछन् । यतिका वर्षदेखि एमालेमै राजनीति गरेर सोही पार्टी र कार्यकर्तालाई गाली गरेपछि उनलाई गठबन्धनका कार्यकर्ता र समर्थकले पनि नपत्याएको उनले बताए । ‘पार्टीलाई गाली त गर्नु भएकै हो उहाँले । कार्यकर्तालाई पनि बाँदर भन्न थालेपछि उहाँप्रति सहानुभूति राख्नेले कस्तो साच्यो होला ? अनि कसरी जितिन्छ चुनाव,’ अर्यालले भने ।
गठबन्धनले आफूलाई शतप्रतिशत भोट नदिने विश्लेषण गर्न नसकेको भन्दै खतिवडाले एमालेका कार्यकर्तालाई गाली गरेकै कारण चुनाव हारेको उनले ठोकुवा गरे । ‘हिजो भोट हाल्ने हजारौंको चित्त दुखाउनु भो आखिर कांग्रेसले पुरै भोट हाल्दैन भन्ने कुरा अनुमान गर्नु भएन,’ उनले भनेका छन् । निर्वाचनमा क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीको २ हजार ५ सयको हाराहारीमा मात्रै समानुपातिकमा भोट आएको थियो । जसकारण खतिवडालाई जितका लागि गठबन्धनको भर थियो । तर, गठबन्धनबाट पूर्ण रुपमा मत नआएपछि खतिवडा असफल भएका हुन् ।
खतिवडालाई सामाजिक सञ्जालमा पनि उनको आलोचना र सुझाव दिनेहरुले एमालेलाई गालीगलौज गरेको प्रशंग कोट्याएका छन् । खतिवडाले आफ्नो फेसबुकमा परिवर्तन गरेको ‘प्रोफाइल पिक्चर’मा निराजन खतिवडाले लेखेका छन्, ‘काका ठिक्क बोल्नु है भनेर सुझाव दिएको मान्नु भएन…..अब हजुरको विरासत महेश बर्तौलाले धान्नुहुन्छ,’ ‘एमाले प्रति जुन किसिमको आक्रमण र निन्दा गर्नु भयो त्यहि नै हार र अन्त्यको कारक भयो,’ रविन्द्र कार्कीले भने ।
जयराम विडारीले सौताको रिशले पोइको काखमा फोहर पार्ने भन्ने नेपाली उखान प्रमाणित भएको भन्दै व्यंग्य गरे । केशवराज गजुरेलले तुच्छ अभिव्यक्तिका कारण हार भएको लेखेका छन् । उनीहरुको भनाईबाट खतिवडाले एमालेका कार्यकर्तालाई गाली नभई, माया गरेर भोट तान्ने रणनीति नबनाएका कारण हार भएको बुझिन्छ ।







