नवनिर्वाचित सांसद् बर्तौलाद्वारा हेटौंडाको मल गोदाम अनुगमन
हेटौंडा- मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले हेटौंडाको सरकारी मल गोदाममा अनुगमन गरेका छन् ।सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्र बुझेपछि बर्तौलाले हेटौंडास्थित कृषि सामाग्री कम्पनि लिमिटेडको मल गोदाममा गएर निरीक्षण गरेका हुन् । सांसद् बर्तौलाले किसानहरुले पर्याप्त मल समयमै नपाउनुको
कारण, मलको भण्डारण स्थितिबारे जानकारी लिएका थिए ।
किसानहरुलाई आवश्यक परेको समयमा मल नपाउने समस्याले अप्ठेरो पारिरहेको भन्दै सहजसँग मल वितरण गर्न बर्तौलाले निर्देशन दिएका छन् । किसानले समयमा नै मल नपाएको गुनासो बढेकाले आफू आएको उनले बताएकाथिए । किसानहरुलाई तत्काल मल वितरण गर्न निर्देशन दिएको उनले बताए ।कृषि सामग्री कम्पनि लिमिटेको हेटौंडा–२ सिद्धार्थ रोडस्थित गोदाममा बर्तौलासँगै इन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी (डीके)पनि उपस्थित थिए ।
मकवानपुर जिल्लाका दश वटा स्थानीय तहका लागि ल्याइएको मल गोदाममै थन्किन नहुने बर्तौलाले बताए । कृषि सामाग्री कम्पनि लिमिटेडका प्रमुख प्रकाश ज्ञवालीले स्थानीय तहका कर्मचारी र सहकारी संस्थाहरुका कारण समयमा नै मल वितरण गर्न समस्या भएको सांसद् बर्तौलालाई जानकारी गराए ।मल आइसकेको विषयमा कार्तिकको अन्तिम साता पत्राचार गरिएको र अहिलेसम्म हेटौंडा उपमहानगरपालिकाभन्दा बाहेकका क्षेत्रका स्थानीय तहले समयमा नै समन्वय नगर्दा मल वितरणमा समस्या भएको जनाइएको छ ।
किसानलाई आवश्यक परेको समयमा तत्काल मल वितरण गर्ने वातावरण तयार गर्नका लागि सांसद् बर्तौलाले निर्देशन दिए । गोदाम भरी मल भएपनि किसानले मल पाउन नसकेको समस्या छ । जिल्लाका ६० प्रतिशत किसानहरुले आलु लगाइसकेकाले उनीहरुले पनि समयमै पर्याप्त मल नपाएको जनाइएको छ ।जिल्लाका हेटौंडा, मकवानपुरगढी, मनहरी, बकैया लगायतका पालिकामा यतिबेला आलु लगाउने चटारो छ । तर, किसानहरुले सहजसँग मल नपाउँदा कालोबजारीको मल बढी मूल्य तिरेर खरिद गर्नु परेको गुनासो गरेका छन् ।







