प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण
हेटौंडा- मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुरबाट निर्वाचित सांसदहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले प्रमाणपत्र वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुको मत परिणाम सार्वजनिक गर्दै निर्वाचितहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।
मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य दीपक बहादुर सिंहलाई मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले प्रमाणपत्र हस्तान्तरण गरेका छन् । यस्तै, क्षेत्र २ बाट निर्वाचित सदस्य महेश बर्तौलालाई निर्वाचन अधिकृत मुकुन्दहरी पौडेलले प्रमाणपत्र हस्तान्तरण गरे । प्रदेश सभा सदस्य क्षेत्र नम्बर १(क) बाट निर्वाचित सदस्य प्रेम बहादुर पुलामी, १(ख)बाट निर्वाचित सदस्य एकालाल श्रेष्ठ, २ (क) बाट निर्वाचित सदस्य कुमारी मोक्तान र २ (ख)बाट निर्वाचित सदस्य ईन्द्र बहादुर बानियाँलाई प्रमाणपत्र वितरण गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा सहायक निर्वाचन अधिकृत तिर्थराज भट्टराईलगायतको उपस्थिती थियो ।







