बागमती प्रदेशसभामा ७ प्रतिशत मात्रै महिला प्रत्यक्ष निर्वाचित

साझाकुरा
२०७९ मंसिर १४, बुधबार ०९:३५

हेटौंडा- बागमती प्रदेशसभामा ७ दशमलव ५ प्रतिशत मात्रै महिला प्रत्यक्ष निर्वाचित भएका छन् । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेश सभा तर्फ बागमती प्रदेशमा ७ दशमलब ५ प्रतिशत मात्रै महिला उम्मेदवार निर्वाचित भएका हुन् । प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्ष तर्फ ५ जना मात्रै महिला निर्वाचित भएका छन् ।

बागमती प्रदेश सभाको प्रत्यक्षतर्फ ६६ निर्वाचन क्षेत्र रहेकोमा ५ जना मात्रै महिला प्रत्यक्षमा विजयी भएका छन् । प्रदेशको दोलखा बाहेक १२ जिल्लाको हालसम्मको नतिजा अनुसार ५ विजयी महिला उम्मेदवारमध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २÷२ जना रहेका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट १ उम्मेदवार विजयी भएका छन् । ५ जना विजयी उम्मेदवार गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा थिए । ५ जनाको प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवारसँग मात्र भएको हो ।

हालसम्म बागमती प्रदेशमा नेपाली कांग्रेसले २४ सिट जितेको छ भने माओवादी केन्द्रले १४ सिट र नेकपा एमालले १२ सिट जितेको छ । एकीकृत समाजवादीले ५ सिट जितेको छ । सत्ता गठबन्धनका दलले ४३ सिट जितेकाले यही गठबन्धन कायम रहेको खण्डमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने सम्भावना छ । राष्टिूय प्रजातन्त्र पार्टीले ८ सिट जितेको छ ।

मजदुर किसान पार्टीले १ र हाम्रो नेपाली पार्टीले १ सिट जितेको छ ।बागमती प्रदेशमा दोलखाको १० वटा विवादित निर्वाचन केन्दमा पुनः मतदान हुने भएकाले त्यहाँको नतिजा आइसकेको छैन । ती दुवै प्रदेशसभाको क्षेत्रमा महिला उम्मेदवार छैनन् । बागमती प्रदेश सभामा प्रत्यक्ष तर्फ प्रतिनिधित्व गर्ने महिलाहरुमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ को १ बाट नेकपा माओवादी केन्द्री कुमारी मुक्तानले जित हासिल गरिन् । उनले एमालेका विष्णुप्रसाद ढकाललाई ३ सय २ मतान्तरले हराइन् । उनले १९ हजार ८ सय ७३ मत ल्याइन् भने ढकालले १९ हजार ५ सय ५१ मत प्राप्त गरेका थिए । मुक्तान प्रदेशको वहालवाला सामाजिक मन्त्री हुन् ।

यस्तै माओवादी केन्द्रकी राधिका तामाङ नुवाकोट क्षेत्र नम्बर १ को १ बाट विजयी भइन् । उनले १६ हजार १ सय ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीलकुमार खड्काले ११ हजार ३ सय ५० मत पाए । यसैगरी सिन्धुपाल्चोलकको निर्वाचन क्षेत्र १ (१) बाट नेपाली कांग्रेसकी मसिना खड्का भण्डारीले जित हातपारिन् ।

उनले १४ हजार ६ सय ५२ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १३ हजार ४ सय ९० मत ल्याए । यो क्षेत्रमा राप्रपाकी महिला उम्मेदवार निर्मला श्रेष्ठले २ हजार ६७ मत ल्याइन् । काठमाडौंका २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६ (१) बाट नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भइन् । उनी काठमाडौं महानगरपालिकाकी पूर्वउपमेयर हुन् । उनले पनि एमालेका निरेशलाल सिंह महर्जनलाई हराइन् । उनले ४ हजार ६ सय ५६ मत ल्याउँदा महर्जनले ३ हजार ९ सय ३६ मत पाए ।

यस्तै काठमाडौं १० (२) बाट एकीकृत समाजवादीकी रमा आले मगरले एमालेका रामशरण ओल मगरलाई पछि पार्दै जित हासिल गरेकी छिन् । उनी यसअघि पनि सोही क्षेत्रबाट प्रदेशसभामा विजयी भएकी थिइन् । उनले ५ हजार ८ सय १८ मत ल्याइन् भने एमालेका उम्मेदवारले ५ हजार १ सय ८८ मत ल्याए । महिलालाई समानुपातिकमा राख्ने तर प्रत्यक्षमा अवसर नदिएका कारण समेत प्रदेशसभाको प्रत्यक्ष तर्फ महिला उम्मेदवार कम रहेकाले पनि जित हासिल गर्ने महिलाको संख्या कम हुन पुगेको बताइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*