३ नम्बर वडालाई बालमैत्री घोषणा गर्न सामूहिक प्रतिबद्धता

साझाकुरा
२०७९ मंसिर १४, बुधबार ०९:३९

हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडाहरु धमाधम बालमैत्री घोषणाका लागि तयारीमा जुटेका छन् । मंगलबार हेटौंडाको ३ नम्बर वडा कार्यालयमा बालमैत्री घोषणा बारे सामूहिक प्रतिबद्धता जनाइएको छ । यसअघि १ र २ नम्बर वडाले आफ्नो वडालाई बालमैत्री घोषणा गर्न सामूहिक प्रतिबद्धता जनाइसकेको हो । ३ नम्बर वडा कार्यालयको आयोजनामा बालमैत्री स्थानीय शासन नीतिगत प्रक्रियागत कार्यान्वयनका लागि अबलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम गरी प्रतिबद्धता जनाइएको हो ।

२०८० असोज मसान्त भित्र यस वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने सर्वपक्षीय व्यक्तित्वहरुबाट प्रतिवद्धता व्यक्त गरिएको हो । कार्यक्रममा प्रशिक्षक विष्णु प्रसाद चौवेले बालमैत्री वडा कार्यान्वयन सम्बन्धि सहजीकरण गरेका थिए । हेटौंडा उपमहानगरपालिकालाई भने २०८० मंसिर मसान्तसम्म बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्ने तयारी छ । जसकारण आगामी वर्षको मंसिर अगाडि नै हेटौंडाका वडाहरुलाई बालमैत्री घोषणा गर्न लागिएको हो ।

सबै वडाहरु बालमैत्री घोषणा भएपछि उपमहानगरलाई नै घोषणा गरिने तयारी छ । वडाहरुमा बालमैत्री घोषणाका लागि थालिएका अभिमुखीकरण कार्यक्रमका लागि उपमहानगरपालिकाबाट टोली निरन्तर खटिएको छ । हरेक वडाहरुमा बालमैत्री घोषणा सम्बन्धि अभिमुखीकरण गरी सामूहिक प्रतिबद्धता जनाएर काम सुरु गर्ने तयारी उपमहानगरको रहेको प्रवक्ता तथा १ नम्बर वडाका वडाध्यक्ष सुविन न्यौपानेले जानकारी दिए ।
३ नम्बर वडामा भएको कार्यक्रममा उपमहानगरको महिला बालबालिका विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेले कार्यक्रमको उद्देश्य बारे जानकारी गराएकी छन् ।

वडा अध्यक्ष ढलक बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, १५ वटा टोल विकास संस्थाका अध्यक्ष, युवा क्लब, बाल क्लब सञ्जाल, विद्यालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्षहरु, महिला स्वयम्सेविका, स्वास्थ्य कार्यालय प्रमुख, विद्यार्थीलगायतको उपस्थिति थियो । ३ नम्बर वडामा बालमैत्री घोषणाका लागि गर्नुपर्ने ५१ वटा सूचकहरुमा काम तीव्र गतिले सुरु गरिने वडा सचिव महेन्द्र चापागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*