भैरवरोडको सडकमा अख्तियारको अनुसन्धान
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–४ भैरव रोडमा निर्माण भएका सडक क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले अनुसन्धान थालेको छ ।२०७६ सालको वैशाखमा सम्झौता भएर काम भएको भैरवरोड स्थित विद्युत प्राधिकरण गेट अगाडिको सडक क्षेत्रमा अख्तियारको टोलीले बुधवार प्राविधिक अनुसन्धान गरेको हो ।
पूर्वाधार विकास कार्यालय चितवनको ५० लाख बजेटमा विरेन्द्र मार्गमा उपभोक्ता समितिमार्फत श्रमदानसहित सडकबाट दुवै क्षेत्रमा ढल निर्माण, फुटपाथ र वेसको काम गरिएको थियो । उक्त काममाथि अख्तियारमा उजुरी परेपछि अख्तियारको टोलीले परीक्षण गरेको हो । अख्तियार टोलीले सडकका संरचना निर्माणको काम सम्झौता अनुरुप भए वा नभएको अनुसन्धान गरेको हो ।
ढल, फुटपाथ तथा वेसको अनुसन्धानमा ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देल, उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयहरुको उपस्थिति थियो । ३ सय ४५ मिटर लम्बाईको बाटो निर्माण पश्चात कमजोर भएको र सम्भौता अनुरुप नभएको भनी अख्तियारमा उजुरी परेपछि प्राविधिक सहितको टोलीले परिक्षण गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका कानुन सुब्बा सुशीलकुमार झाले बताए । अनुसन्धानपछि तयार रिपोर्ट अख्तियार केन्द्रीय कार्यालयमा पठाइने उनले बताए ।







