हात्तिसुँढेमा मोटरसाइकल दुर्घटना हुँदा लामाको मृत्यु
हेटौंडा- जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका केन्द्र हात्तिसुँढेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बकैयाको ३ नम्बर वडा स्थित हात्तिसुँढे बजारमा मंगलबार राती मोटरसाइकल दुर्घटना हुदाँ चालक बकैया–५ श्रीपुर घर भएका २८ वर्षीय श्याम लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
धरान चतरा सडक खण्डअन्तर्गत हात्तिसुँढे श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८प २५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको नालिमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।दुर्घटनामा परेर गम्भीर घाइते भएका लामालाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी कार्कीले बताए
। धरान चतरा सडक खण्डमा पछिल्लो समय सवारी दुर्घटना बढेको छ । चिल्लो सडकमा सवारीसाधनसमेत कम गुड्ने भएपछि लापरबाही ढंगबाट मोटरसाइकल तथा गाडिहरु चल्दा दुर्घटना बढी हुने गरेको पाइएको छ । केही दिनअघि हेटौंडा–६, गौरिटारमा पनि बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको थियो । उक्त सडक खण्डमा तीव्र गतिमा सवारीसाधन सञ्चालनमा नियन्त्रण गर्नुपर्ने माग उठिरहेको छ ।







