बागमतीमा उन्नत गाई आयात गर्दा ढुवानीमा अनुदान दिइने

साझाकुरा
२०७९ मंसिर १६, शुक्रबार ०९:२९

हेटौंडा- बागमती प्रदेश सरकारले नश्ल सुधारका लागि ल्याइने उन्नत जातका गाई आयात गर्दा लाग्ने ढुवानी भाडामा किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उन्नत गाई आयातमा ढुवानी गर्नका लागि प्रतिगाई एक लाख रुपैयाँ अनुदान दिने भएको हो । अनुदान नश्ल सुधारका लागि ल्याइने गाईको हकमा मात्रै प्रयोग हुने मन्त्रालयको कार्यविधिमा उल्लेख छ ।

अनुदान बागमतीका १३ वटै जिल्लाका किसानको हकमा लागू हुने कार्यविधिमा उल्लेख छ । बागमतीका काभ्रे, चितवन, मकवानपुरमा धेरै गाईपालन हुने गर्दछ । मन्त्रालयले चालु आर्थिक वर्ष २०७९÷०८० मा विदेशबाट हवाइ मार्गमार्फत गाई ढुवानी गर्नका लागि अनुदान रकम दिने जनाएको छ । विदेशबाट गाई नेपालमा ल्याउँदा निकै खर्चिलो हुने भन्दै मन्त्रालयले प्रतिगाईको भाडा बापत १ लाख रुपैयाँ अनुदान दिने भएको मन्त्रालयका प्रवक्ता झलनाथ कँडेलले जानकारी दिए ।

मन्त्रालयले अनुदान वितरणका लागि ‘उन्नत गाई आयातमा ढुवानी अनुदान कार्यक्रम सञ्चालन प्रक्रिया–२०७९’ कार्यविधि स्वीकृत गरिसकेको छ । गाई आयातकर्ता निकायले अनुदान पाउन गाई आयत गरेको देश, संख्या, गाईको जात, खरिद गरेको प्रमाण, ढुवानीको टिकट, बिल, बैंक कारोबारको प्रतिलिपि, सम्झौता अनुसारको कागजातसहित भुक्तानीको लागि निवेदन पेश गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

नेपालमा उन्नत जातको गाईको अभावको कारण दुध उत्पादनमा कमि आएको भन्दै ढुवानी भाडा अनुदान दिन लागिएको प्रदेश दुग्ध विकास बोर्ड, बामगती प्रदेशका उपाध्यक्ष टिका बल्दब सापकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*