मल माग्दै थाहा नगर घेराउ

साझाकुरा
२०७९ मंसिर १६, शुक्रबार ०९:५२

हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा रसायनिक मल नपाएको भन्दै किसानहरु आन्दोलित भएका छन् । थाहा नगरको फाँटमा आलु लगाउने बेला आएको भन्दै कसान आन्दोलन संघर्ष समिति थाहा नगरले मलको अभाव हटाउन नगरपालिकालाई दबाब दिने कार्यमा जुटेको छ । बिहीवार नगरपालिका परिसरमा समितिको नेतृत्वमा किसानहरुले मल मागेर धर्ना दिएका छन् । समयमै मल नआउँदा आलु लगाउन समस्या हुने भन्दै नगरपालिकाले तत्काल समस्या समाधान गर्न किसानहरुले माग गरेका छन् ।

किसानहरुको धर्नामा थाहाका नगर प्रमुख विष्णुबहादुर विष्टसमेत सहभागी थिए । उनले मल आपूर्तिका लागि आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए । नगरपालिकाले मल अभाव हुन नदिने भन्दै किसानलाई प्रतिबद्धता जनाएका छन् ।रसायिनक मल अभाव हुँदा किसानहरुलाई वैज्ञानिक परिक्षण नभएका तथा सम्बन्धित निकायले प्रमाणीकरण नगरिएका गुणस्तरहीन मलको बाध्यात्मक ढंगबाट प्रयोग गर्नुपर्ने जुन असहज परिस्थिति छ । स्थानीय तहले मल आपूर्तिमा ध्यान नदिएको किसानहरुले आरोप लगाएका छन् ।

सरकारबाट निश्चित मूल्य निर्धारण गरिएका युरिया, डिएपी जस्ता रसायनिक मलहरु तेब्बर मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता परेको किसानहरुले गुनासो गरेका छन् । थाहा नगरपालिकामा माघ महिनाको पहिलो हप्तादेखि आलु लगाउनुे सिजन सुरु हुनेछ । त्यतिबेला प्रति किसान ६ बोरादेखि १५ बोरासम्म मल आवश्यक पर्ने देखिएको छ । तर, हालकै मल अभावले माघमा आलु लगाउदा ठूलो समस्या हुने स्थानीय किसान सानुबाबु मोक्तान बताउँछन् ।

किसानहरुका अनुसार मल अभावलाई टार्न थाहामा समानुपातिक मल वितरणले किसानहरुले पर्याप्त मल नपाउने देखिएको हो । प्रति किसानले १० किलो मल मात्रै पाउँदा टोक्नु न बोक्नु हुने किसानहरु बताउँछन् । समयमै मल ल्याएर किसानहरुलाई आवश्यकता र औचित्यको आधारमा मल बाँडफाँड गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।‘कुन ठाउँमा कति आवश्यक पर्छ, तत्कालको आवश्यकतालाई सम्बोधन गर्दै छोटो समयमा आपूर्ति व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।

मल आपूर्ति गर्दै आएका निकायले कुन ठाउँको लागि कति मल वितरण गरियो भनेर सहज जानकारी प्राप्त गर्न तथा आवश्यकताको आधारमा पर्याप्त मल माग गर्नका लागि किसानकै प्रतिनिधित्व हुनेगरी एउटा निष्पक्ष आयोग गठन गर्न ध्यानाकर्षण गराउँदछौं,’ समितिको प्रेस विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*