नारायणी यातायातको ३५ औं साधारणसभा
हेटौंडा- नारायणी यातायात व्यवसायी संघको ३५ औं वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । अग्रज यातायात व्यवसायी टेकनारायण कँडेलको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा भएको हो । सभामा संघलाई दुःख दिइएको र सरकारले बेवास्ता गरेको गुनासो धेरै उठेको छ ।
संघका अध्यक्ष श्रेष्ठले संघको लेटर प्याड, छाप र रसिद प्रयोग गर्न बन्देज लगाउन उजुरी दिइएको, अख्तियारमा उजुरी दिइएको, सम्पति शुद्धिकरणमा उजुरी दिइएको, गृह मन्त्रालयमा उजुरी, यात्रुबाहक सवारीहरुको व्यवस्थापनको रकम दुरुपयोग गरेको भनी उजुरी, कम्पनी खोल्न नदिन उजुरी, संघको साधारणसभा रोक्न उजुरी र हेटौंडाको तौलपुल बन्द गर्ने जस्ता क्रियाकलापहरु गरेर संघलाई दुःख दिएको गुनासो गरेका छन् ।
नेपाल सरकार रमातहतका कार्यालयहरुले भारतीय सवारीको खुल्ला प्रवेशमा रोक, सवारी साधनको आवश्यकताको पहिचान र आयातको विषय, भाडाका साधनका वित्तीय लगानीबारे, ट्रक पार्कबारे, चालक उत्पादन गर्ने प्राविधिक शिक्षाको आवश्यकता र अञ्चल नम्बरमा रहेका सवारी सोझै प्रदेश नम्बर हुनुपर्ने जस्ता विषयवस्तुमा ठोस निर्णय लिनुपर्ने श्रेष्ठले बताएका छन् ।
सभामा महासचिव सरोजकुमार खनाल, कोषाध्यक्ष राजेश खड्गीले प्रतिवेदन प्रस्तुत गरेका छन् ।कार्यक्रममा वरिष्ठ यातायात व्यवसायी पुरुषोत्तम अर्याल, मउवा संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, संघका पूर्वअध्यक्ष बद्रीप्रसाद चौलागाई, पूर्वसदस्य देवनारायण लामिछानेलगायतको आतिथ्यता थियो ।







