क्यान मकवानपुरको वार्षिक साधरणसभा
हेटौंडा-कम्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर (क्यान)को १६ औं वार्षिक साधरणसभा हेटौंडामा शनिबार भएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा क्यान मकवानपुर अध्यक्ष पुष्पराज पुडासैनीको सभाध्यक्षतामा साधारणसभा भएको हो । कार्यक्रममा प्रमुख लामाले हेटौंडालाई सूचना प्रविधिमैत्री बनाउन क्यानसँग सहकार्य गरेर काम गर्ने बताएकी छन् ।
क्यान केन्द्रीय सचिव चिरञ्जीवी अधिकारी, पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारुमगर, क्यान मकवानपुरका संस्थापक अध्यक्ष नेत्रबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष श्यामकल श्रेष्ठ, दीपेन्द्र रेग्मीलगायतको आतिथ्यता थियो । क्यान मकवानपुरका ज्येष्ठ सदस्य योगेश्वरबहादुर श्रेष्ठलाई कार्यक्रममा सम्मान गरिएको थियो । क्यान मकवानपुरका कार्यबाहक सचिव गोविन्द चौलागाईले संस्थाका गतिविधिहरु समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । वि.सं. २०६३ सालमा स्थापना भएको क्यान मकवानपुरमा १ सय ५ जना संस्थागत र व्यक्तिगत साधारण सदस्य छन् ।







