भ्रष्टाचार रोक्न मुख्यमन्त्रीलाई ज्ञापन पत्र
हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई भेटेर प्रदेशमा भइरहेको भ्रष्टाचार रोक्न अपिल गरेको छ । रास्वपाबाट मकवानपुरको प्रतिनिधिसभा उम्मेदवार रहेका भरत पराजुली र टाकाराज थापा (सुरेश)ले सोमबार मुख्यमन्त्री पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै प्रदेशको स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार भएको दाबी गरेको थियो ।
आफ्नो पार्टीको कार्यालयमा उजुरी परेको भन्दै रास्वपा मकवानपुरले टेण्डर प्रक्रियामा आफनो नजिकको सप्लायर्सहरुलाई मिल्ने स्पेक बनाई करोडौं भ्रष्टाचार भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । ज्ञापन पत्रमा भनिएको छ, ‘टेण्डरको डिजाईनकर्ता मन्त्रालयका सचिव बद्री खड्का,निर्देशक अर्जुन सापकोटा, मन्त्री निमा लामा दलका नेता इन्द्र बानियाँ रहेको जानकारी प्राप्त छ,’करार कर्मचारी भर्ना गर्दा सचिव खड्का, स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ मिलेर पैसा संकलन तथा कांग्रेसको भर्ति केन्द्र बनाएको अख्तियारमा समेत उजुरी रहेको आरोप लगाइएको हो ।
सरुवा बढुवामा व्यापक भ्रष्टाचार गरेको पैसावालालाई प्राथमिकतामा दिएको आरोप रास्वपाले लगाएको छ । आपुर्ति व्यवस्थापन केन्द्रको सिटिस्क्यान खरिदमा व्यापक मिलेमतो हुन लागेको रास्वपाले जनाएको छ । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले घटना बारे ध्यानाकर्षण भएको बताएका छन् ।







