अब हेटौंडा अस्पतालमै मृगौला प्रत्यारोपण
हेटौंडा- मृगौला प्रत्यारोपण जस्तो जटिल प्रकारको स्वास्थ्य उपचार अब हेटौंडा अस्पतालमै हुने भएको छ । हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण तथा डायलासिस सेवा विस्तारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता भएसँगै अस्पतालमा निकट भविष्यमै मृगौला प्रत्यारोपण र डायलासिस सेवा सुरु हुने अस्पताल विकास समिति सदस्य उत्सव चौलागाईले जानकारी दिए । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, स्वास्थ्य मन्त्री निमा लामाको उपस्थितिमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सम्झौता भएको हो ।
केन्द्रसँग मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालबीच त्रिपक्षीय सम्झौता भएको छ । अस्पताल प्रतिष्ठान मातहत सञ्चालन भइरहेको छ । विगतमा संघीय सरकार मातहत रहेको हेटौंडा अस्पतालाई प्रतिष्ठानमा ल्याएर सञ्चालन भएपछि उपचार सेवामा वृद्धिसँगै गुणस्तरीयतामा पनि बढावा भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुष्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशी र हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रामचन्द्र सापकोटाले सम्झौता पत्रका हस्ताक्षर गरेका छन् । मृगौला प्रत्यारोपन केन्द्र स्थापना गर्न बागमती प्रदेश सरकारले ८ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
अस्पतालमा सेवा विस्तार गर्ने अभियान अनुसार बागमती प्रदेश सरकारको सहयोगमा मृगौला अंग प्रत्यारोपण गर्नका लागि पनि सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । मृगौलाको प्रत्यारोपण र डायलासिस सेवा पनि तत्काल अगाडि बढाइने बागमतीका मुख्यमन्त्री पाण्डेले बताएका छन् । काम गर्ने इच्छा सक्ति हुँदा पैसाको कुनैपनि अभाव हुन नदिने उनले प्रतिबद्धता जनाए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर जोशीले हेटौंडा अस्पतालमा सम्झौता कार्यान्वयनमा आएपछि धेरैलाई सेवा दिनका लागि सहज हुने बताएका छन् । सम्झौतामा चालू आर्थिक वर्ष ०७९÷०८० भित्र हेटौंडा अस्पतालमा मृर्गौला प्रत्यारोपण कार्य सुरु गरिने उल्लेख छ । बागमती प्रदेशअन्तर्गत विभिन्न अस्पतालहरुमा डाइलाइसिस सेवा विस्तार गर्ने सम्झौतामा उल्लेख गरिएको हो ।
यी कार्यक्रमहरुका लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरअन्तर्गत जनशक्तिको तालिम, अध्यापन आदी व्यवस्थापन गर्ने, मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपणलगायतका कार्य प्रभावकारी बनाउन कार्य योजना प्रस्तुत गर्ने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मृर्गौला प्रत्यारोपण फेलोशिप, एमसिएच युरोलोजी, डिएम नेफ्रोलोजि, नर्सिङ विषयको स्नातक तथा स्नात्ताकोत्तर तहलगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक गृहकार्य गर्ने जनाइएको छ ।







