विरेन्द्रको शालिक नहटाउँदा रोकियो कम्प्लेक्स निर्माण
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–४,स्थित हुप्रचौरमा रहेको वासुदेव सभागृह भत्काएर व्यापारिक कम्प्लेक्स बनाउन सम्झौता गरेको एक वर्ष पुरा भएको छ । तर, सभागृहको प्रा·णबाट रहेको राजा वीरेन्द्रको शालिकनहट्दा व्यापारिक कम्प्लेक्सनिर्माणको कार्य सुरु हुन सकेको छैन । व्यापारिक कम्प्लेक्स बनाउने भन्दै हेटौंडा उपमहानगरपालिकाको तत्कालिन मेयर हरिबहादुर महतले वासुदेव सभागृह रहेको जग्गा छनौट गरेका थिए ।
कम्प्लेक्सका लागि २०७८ मंसिर २० गते लामा–रसुवा–बानियाँ निर्माण सेवासँग तीन वर्षीय सम्झौता भएको थियो ।सम्झौता भएको एक वर्ष भइसक्दा पनि व्यापारिक कम्प्लेक्स निर्माणको काम सुरु हुन सकेको छैन । हेटौंडा उपमहानगरपालिकाले तीन वर्षीय आयोजनाको रुपमा अघि
सारेर १ वर्ष अगाडि नै सम्झौता गरेको योजनाको काम वर्ष दिन बित्दा हालसम्म १ प्रतिशत पनि काम हुन नसकेको हो । निर्माणका लागि ठेक्का पाएको कम्पनीले ल्याएको स्काभेटरसमेत बेवारिस अवस्थामा थन्किएको छ ।
ऐतिहासिक वासुदेव सभा गृहको भवन निर्माण गर्न २०६० सालमा तत्कालीन हेटौंडा नगरपालिकाले हुप्रचौरमा निर्माण सुरु गरेको सभागृह सम्पन्न नहुँदै नयाँ व्यापारिक भवन बनाउने उद्देश्यले भत्काइएको थियो । तत्कालीन सरकारको २ करोड भन्दा बढी लगानीबाट बनेको सभागृहमा प्राविधिक त्रुटी देखाउँदै प्रयोगमै नआई भत्काइएको हो । ऐतिहासिक सभा गृह मासिएपनि यसलाई मासेर बनाइने भनिएको व्यापारिक कम्प्लेक्सको काम पनि अघि बढ्न सकेको छैन ।
१३ तले नयाँ भवन बनाएर भवनमा दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइटा भ¥याङ, टपमा भ्यूटावर, शपिङ पसल, अफिस, रेष्टुरेण्ट, गेमिङ जोनलगायत सुविधा हुने बताइएको छ । भवन निर्माण गर्न ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको एक वर्ष बितेको छ । तर, काम भने सुरु पनि हुन सकेकै छैन ।
यता, नगर विकास समितिको नाममा रहेको हुप्रचौर परिसरमा निर्माण भएको ऐतिहासिक, कलात्मक तथा पुरातात्त्विक महत्व बोकेका नेपालका राजा विरेन्द्र शाकको शालिक नै भत्काउने गरी भवन निर्माणको कार्य अघि बढेकाले सालिक संरक्षण र सुरक्षाका लागि आवश्यक पहल गरिदिन राप्रपा निकट नेताहरुको समूहले पटकपटक सरोकारवाला निकायलाई माग गर्दै आइरहेका छन् ।
स्वर्गीय वीरेन्द्र राजाको सालिक भत्काउने कि अन्यत्र स्थानान्तरण गर्ने भन्ने कुराको ठोस निर्णय हुन नसक्नु नै काम सुरु गर्न नपाउनुको मुख्य कारण रहेको छ । जीर्ण शालिकलाई अन्यत्र सार्न मुस्किल हुने हेटौंडा उपमहानगरपालिकाको अभिव्यक्ति छ भने राप्रपाले शालिक जस्ताको त्यस्तै
राख्न ध्यानाकर्षण गराइरहेको छ ।
हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले अघिल्लो सरकारको योजनालाई गौरवको योजनाको रुपमा राखेर सोही भवन निर्माणका लागि चालू आर्थिक वर्षमा १५ करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको बताए । यसअघि विभिन्न कारणले निर्माणमा अवरोध आए पनि अबको केही दिनमा जसरी पनि यो विषयको ठोस निष्कर्ष निकाल्ने तयारीमा स्थानीय सरकार रहेको न्यौपानेले दाबी गरेका छन् ।
ठेक्का पाएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर भवन बनाउन नपाएको भन्दा पनि बनाउन नदिइएको बताउँछन् । यसले गर्दा काम नसकी छुटकारा पनि नपाइने र काम गर्नको लागि सम्बन्धित पक्षहरुले बाटो पनि खुल्ला नगरिदिएको कारण सुरु गर्नै नपाएको बानियाँ निर्माण सेवाका प्रोजेक्ट म्यानेजर आदित्य ठाकुर गुनासो गर्छन् ।
उनका अनुसार निर्माणको जिम्मा पाएको कम्पनीले काम गर्ने अनुकूलता नपाएकै कारण काम गर्न पाएका छैनन् । सभा गृह अगाडि रहेको राजा वीरेन्द्रको सालिक भत्काउन नहुने एक पक्षको अडान र त्यसलाई स्थानान्तरण गरेर सुरक्षित गर्ने पहलमा उपमहानगरपालिका चुकेकै कारण १ वर्षसम्म पनि काम अघि बढाउन नसकिएको बताइए पनि यसतर्फ स्थानीय सरकार फेरिएसँगै चासोको विषयले हेर्न छोडिएको गुनासो बढेको छ ।
यता राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका मकवानपुरका प्रतिनिधिसभा सदस्य दिपक सिंहले हुप्रचौरमा व्यापारिक भवन बनाउन उचित भएको बताए । व्यापारिक भवन बनाएर भाडा असुल्ने काम उपमहानगरपालिकाको नभएको सिंहले बताए । ‘हुप्रचौर मास्ने कुरा ठिक हैन, फेरि भूकम्प गएको बेलामा जनतालाई कहाँ राख्ने ? त्यसलाई पार्कको रुपमा राख्नुपर्छ,’ सिंहले भने ।
हुप्रचौरमा कम्प्लेक्स बनाएर नगरपालिकाले व्यापार गर्ने भए बजारका व्यापारीले के गर्ने भन्दै सिंहले प्रश्न गरे । ‘हजारौं मान्छेलाई राख्न परेमा अब हेटौंडामा कहाँ खुला जग्गा छ ? दिनप्रति दिन जनसंख्या बढ्दैछ, खाली जग्गा घटदै गइरहेको छ,’ उनले थपे, ‘कम्प्लेक्स बनाउने पैसा हेटौंडा अस्पतालमा लगानी गर्दा राम्रो हुन्छ नी । जनताकै सेवाका लागि पैसा लगाउने हो,’







