‘नेपथ्य लाइभ कन्सर्ट’को तयारी अन्तिम चरणमा
हेटौंडा-भोली बिहिबार हेटौंडामा हुने ‘नेपथ्य लाइभ कन्सर्ट’को तयारी अन्तिम चरणमा पुगेको छ । मानवता प्रबद्र्धनको लागि हेटौंडाको भुटनदेवी चौरमा बिहीबार ‘नेपथ्य लाइभ कन्सर्ट’ हुन लागेको हो । बिहिबार हुन लागेको ‘नेपथ्य लाइभ कन्सर्ट’को आन्तरिक तयारी पुरा भएको र फिल्ड तथा स्टेजको काम जारी रहेको मानव सेवा आश्रम हेटौंडाले जनाएको छ । वीरगञ्जको कार्यक्रम सकेर नेपथ्यका मुख्य गायक अमृत गुरुङ सहितको टोली आज मंगलबार हेटौंडा आएको छ ।
नेपथ्यको प्राविधिक टोलीले स्टेज बनाउन सुरु गरेको छ । कन्सर्टमा मुख्य गायक अमृत गुरुङले लोक÷पप गीतहरु प्रस्तुत गर्नेछन् । कार्यक्रमको तयारी तीब्र भएको र टिकट विक्री करिब करिब सकिएको मानवसेवा आश्रम हेटौंडाले जनाएको छ ।मानव सेवा आश्रम हेटौंडामा हाल १८ जना बालक, ३ जना बालिका, ९४ पुरुष र ७७ जना महिला गरी एकसय ९२ जना आश्रित छन् ।
कन्सर्ट मंसिर २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रंगशालामा, पौष ३ गते धनगढी रंगशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ । अन्तिम कार्यक्रमको रुपमा अंग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
कन्सर्टमा सहभागि हुन मानवसेवा आश्रमको मुख्य कार्यालयका साथै अनलाइनबाट पनि टिकट लिन सकिन्छ । टिकट शुल्क एक हजार रुपैयाँ रहेको छ ।मानवता प्रबद्र्धनका लागि मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तर्गत मकवानपुरको यो कार्यक्रम तेस्रो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा कार्यक्रम सम्पन्न भएको छ ।







