हेटौंडा उपमहानगरले ग¥यो तरकारी बजारको उचित व्यवस्थापन
हेटौंडा- हेटौंडा–१० बसपार्कमा रहेको थोक तरकारी बजारलाई चौकीटोलमा सारिएको छ । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१ स्थित राप्ती नदी उकास जमिनमा थोक तरकारी बजार निर्माण गरेर व्यवसायीलाई सारेको हो । तरकारी तथा फलफुलको थोक बजारको आइतबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उद्घाटन गरेको थिइन् । नेपाल फलफूल तथा तरकारी व्यवसायी संघसँगको समन्वयमा उक्त स्थानमा एकसय ६ जना व्यवसायीका लागि स्टल निर्माण गरिएको छ ।
बागमती प्रदेश सरकारले दातृ निकायसँगको समेत सहयोगमा हेटौंडा–११ मा तरकारी तथा फलफुल थोक बजार निर्माण गरिरहेको छ । बजार निर्माणमा करिब ३ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएकोमा ३६ लाख रुपैयाँ उपमहानगरपालिकाले सहयोग गरेको छ । बजार निर्माण गर्न थोक बिक्रेताले प्रतिव्यवसायीसँग २ लाख रुपैयाँ संकलन गरिएको थियो । २०७८ सालमा उपमहानगरले तरकारी बजार निर्माण गर्न करिब ३ बिघा जग्गा उपलब्ध गराएको थियो । तरकारी बजारको उद्घाटन गर्दै मेयर लामाले बजार व्यवस्थापनका लागि उपमहानगरपालिका सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
मेयर लामाले अब बिस्तारै उपमहानगरपालिका क्षेत्रका बजारलाई व्यवस्थित बनाउने काममा लाग्ने बताइन् । उपमेयर राजेश बानियाँले तरकारी बजार र व्यवसायीलाई व्यवस्थित ढंगबाट काम गर्ने वातावरण तयार पार्ने बताए । तरकारी तथा फलफुल व्यवसायी संघ मकवानपुरका अध्यक्ष खड्ग बहादुर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, उपमहानगरको प्रवक्त सविन न्यौपाने, वडा अध्यक्षहरु, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको पनि उपस्थिति रहेको थियो ।







