अब ‘एकीकृत अटो भिलेज’ बनाउन उपमहागर लागेको छः प्रवक्ता न्यौपाने
हेटौंडा- हेटौंडा बजार क्षेत्रमा छरिएर रहेका अटोमोबाइलसंग सम्बन्धित व्यवसायलाई व्यवस्थित गर्न हेटौंडा उपमहानगरपालिका अगाडि बढेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताएका छन् ।हेटौंडा–१० बसपार्कस्थित तरकारी व्यवसायीलाई हेटौंडा–१ चौकीटोलपश्चिम राप्ती किनारमा स्थानान्तरण गरी व्यवस्थित बनाएपछि अब हेटौंडा उपमहानगरपालिकाको ध्यान अटो मोबाइल व्यवसायीहरुलाई व्यवस्थित बनाउनेतर्फ गएको प्रवक्ता न्यौपानेले बताए ।
हेटौंडा–१ मा तरकारी व्यवसायीलाई बनाइएको एकीकृत तरकारी बजारको आइतबार उपमहानगरका प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त उद्घाटन गरेका थिए । उक्त तरकारी बजार उद्घाटनलगत्तै उपमहानगरका प्रमुख लामा र उपप्रमुख बानियाँले हेटौंडा उपमहानगरपालिका वडा नं. ११ स्थित ‘एकीकृत अटो भिलेज’ निर्माणको लागि उपमहानगरले छुट्याएको क्षेत्रको निरीक्षण गरेका छन् । उक्त क्षेत्र हाल भएको नमूना बस्तीभन्दा दक्षिण राप्तीखोलाको उत्तर नदि उकास क्षेत्र हो ।
निरीक्षणपश्चात् प्रमुख लामाले ‘एकीकृत अटो भिलेज’ निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराएको उपमहानगरले अब जग्गा विकास, कार्यालय भवन तथा तालिम केन्द्र, सार्वजनिक शौचालय र बाटो निर्माणमा बजेट विनियोजन गर्ने बताए । उनले देशमै नमूना ‘एकीकृत अटो भिलेज’ बनाउन द्रुत गतिमा लाग्न व्यवसायीहरुलाई आग्रहसमेत गरे । करिब २८ विगाह क्षेत्रफलमा फैलिएको उक्त भिलेजमा तीन पाङ्ग्रेदेखि माथिका सवारी साधनको मर्मत सम्भार गर्ने स्थान, नयाँ सवारीको शो–रुमका साथै स्पेयर पार्टस्का पसलहरु व्यवस्थित तरिकाले बनाइनेछ । उक्त कार्यको लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको छ ।
मकवानपुर अटो मेकानिक एण्ड इन्जिनियरि· एसोसिएसनको समन्वयमा निर्माण हुने उक्त भिलेजलाई राप्ती खोलाको कटानबाट रोक्न भौतिक पूर्वाधार विकास मन्त्रालयले पाँच करोड लगानीमा एक किलोमिटर दुईसय मिटर मोटरबाटोसहितको तटबन्धनको काम गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।कूल २१ करोडे लगानी हुने अनुमान गरिएको भिलेजमा वर्कसप सेडहरु भने व्यवसायी आफैंले बनाउने भएका छन् । ‘बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका र व्यवसायीको संयुक्त प्रयासमा नमूना अटो भिलेज बनाउन उपमहानगर दत्तचित्त भएर लागेका छौं’, प्रवक्ता न्यौपानेले जानकारी दिए ।







