इन्द्रसरोबर घटनाः सोधेको प्रश्नको सिधा उत्तर नदिएको निहुँमा हत्या

साझाकुरा
२०७९ मंसिर २८, बुधबार ०९:३१

हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकामा एक महिलाको शव बारीमा गाडिएको अवस्थामा फेला परेको घटनाका आरोपित सार्वजनिक गरिएको छ ।२४ मंसिर शनिवार इन्द्रसरोबर–३, सिस्नेरीको ज्यामिरेमा स्थानीय ३५ वर्षीया सरस्वती वाइवाको शव बारीमा गाडिएको अवस्थामा प्रहरीले फेला परेको थियो । आरोपितको बयान र प्रारम्भिक अनुसन्धानपछि उक्त शव हत्यापछि गाडिएको निश्कर्षमा मकवानपुर प्रहरी पुगेको छ ।

सरस्वतीको हत्या गरेर आफ्नै बारीमा शव गाडेको स्वीकार गरेका स्थानीय मृतकको छिमेकीसमेत रहेका रोज वाइवा पक्राउ परेका छन् । जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धानको घेरामा रहेका उनै वाइवालाई मंगलबार मकवानपुर प्रहरीले मृतक सरस्वतीको हत्यामा संलग्न रहेको आरोपमा सावर्जनिक गरेको हो ।

सरस्वती १३ मंसिरमा गाउँबाटै बेपत्ता भएकी थिइन् । घरबाट अन्य जान हिँडेकी उनको आरोपित रोजसँग बाटोमै भेट भएको थियो । भेटका क्रममा रोजले सोधेको प्रश्नमा मृतक सरस्वतीले सोझो उत्तर नदिएको कारणले आफूले कुटपिट गरेको र मृत्यु भएपछि आफ्नै बारीमा शव गाडेको बयान दिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

‘उनीहरुबीच बाटोमा भेट हुँदा रोजले महिलालाई प्रश्न गरेको र महिलाले सोझो उत्तर नदिएपछि कुटपिट गरेको बयान दिएका छन्,’ डिएसपी कार्कीले
भने । प्रहरीका अनुसार आरोपित वाइवाले मादक पदार्थ सेवन पनि गरेका थिए । उनले सरस्वतीलाई सामान्य भनाभनकै क्रममा कुटपिट गरेको खुलेको छ ।

वाइवाले सरस्वतीलाई पिटेपछि उनी भुर्इँमा रहेको ढुंगामा ठोक्किएर बेहोस भएको प्रहरीले जनाएको छ । सरस्वतीलाई हत्यापछि आरोपी वाइवाले आफ्नै बारीमा खाल्डो खनेर पुरेको अनुसन्धानबाट पत्ता लागेको डिएसपी कार्कीले जानकारी दिए । घरबाट हिँडेकी श्रीमती फर्किएर नआएपछि उनका श्रीमान विरबहादुर वाइवाले सिस्नेरी प्रहरी चौकीमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको कमाण्डमा तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको प्रहरी टोलीले खोजी गरिरहँदा साथमै रहेका विरबहादुरले २४ मंसिरको साझ साढे ७ बजेको समयमा श्रीमतीलाई खोल्डोमा गाडिएको अवस्थामा फेला पारेका थिए ।

बारीमा गाडिएको अवस्थामा अनुहार र कपडा देखिए पछि वाइवाको शव फेला परेको थियो । अनुसन्धानको टोलीले रोजमाथि शंका लागेपछि तत्काल पक्राउ गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुर गरेकोले जन्मकैदसम्मको सजाय हुने कानुनी व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*