सेवाग्राही बिहानैदेखि लाइनमा, मालपोतका कर्मचारीलाई रजाईं
हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित मालपोत कार्यालयका कर्मचारीको कार्यालयमा आउने समयको कुनै टुंगो नभएको पाइएको छ । कार्यालय खुल्ने समय बिहान १० बजेदेखि सेवाग्राहीको लाइन लाग्दासमेत थाहा नगरपालिकामा रहेको मालपोतका कर्मचारीहरु भने आफ्नै ढंगले कार्यालयमा आउने गरेको खुलेको हो । उनीहरुले कार्यालय खुल्ने समयमै हाजिर भएर सेवाग्राहीको सेवा प्रदानमा खटिनुपर्ने नियमको ठाडो उल्लघंन गरिरहेको पाइएको हो । ‘हामी १० बजेदेखि नै यहाँ आएर बसेका छौं । कर्मचारी को छैनन् ।
कति बेला काम सकेर घर जानु । कस्तो मनलाग्नी उहाँहरुलाई,’ कार्यालयमा आएका सेवाग्राहीले भने । मालपोतका कतिपय कर्मचारी ११ बजेतिर कार्यालयमा आएर हाजिर गरेको देखिएको छ ।कार्यालयमा १० बजेर ४० मिनेट जादा ३ जना कर्मचारी भेटिएका थिए । कार्यालय प्रमुख विदामा तर निमित्त प्रमुख रामकुमार कार्की बाहिरी पोशाकमा १० बजेर ५४ मिनेट हुँदा कार्यालयमा आइपुगेका थिए । कार्यालयमा भएका कर्मचारीको पनि पोशाक दिएन् । उनीहरुले परिचय पत्रसमेत नलगाएको पाइएको छ ।
कर्मचारीको हाजिरी समेत हप्तौदेखि खाली रहेको भेटिएको छ । कर्मचारीहरुले हाजिरी पनि नगर्ने गरेको पाइएको छ । केही दिनअघि मालपोत कार्यालय थाहा नगरका प्रमुख बिदामा रहेका बेला कर्मचारीहरुलाई रजाई बनेको हो । कार्यालय प्रमुख नहुँदा कर्मचारीहरुको कार्यालय आउने र जाने समयको कुनै टुंगो नभएको सेवाग्राहीले जानकारी दिएका छन् ।
मालपोतमा निमित्त प्रमुखमा स्थानीय रामकुमार कार्की नै छन् । थाहा नगरमै भएका कार्कीसमेत समयमा कार्यालय आउने नगरेको पाइएको हो । ‘हाकिम विदामा छन् । निमित्त हाकिमको जिम्मेवारी पाएकाको पनि कार्यालय आउने समय निश्चित नभएपछि कर्मचारीहरुले के गर्लान । हामी कहाँदेखि दुःख गरेर यो चिसोमा आएको उहाँहरुलाई त क्या मोजमस्ती छ,’ एक सेवाग्राहीले रुष्ट हुँदै भने ।
कर्मचारी समयमा नै कार्यालयमा नआउँदा संधै समस्यामा पर्ने गरेको गुनासो सेवाग्राहीले गरेका छन् । चाँडो काम सकाएर अन्य काममा जानुपर्ने चटारोका बीच कर्मचारीकै कारण सेवाग्राहीलाई समस्या बनिरहेको देखिएको हो । कार्यालयमा समयमा नजाने मात्र नभई कर्मचारीहरुले पाएको सुविधाको पनि सदुपयोग गरेका छैनन् । कर्मचारीले पोशाकका लागि बर्षमा दश हजार रुपैयाँ सुविधा पाउँछन् । तर, उक्त सुविधा लिएर पनि उनीहरु पोशाकमा आउने गरेका छैनन् ।
सरकारी कार्यालयका कर्मचारीले अनिवार्य तोकिएको मापदण्डको पोशाक लगाउनु पर्छ । मापदण्डमा सेतो सट, निलो पाईन्ट, निलो कोट र कार्यालयमा बस्दा अनिवार्य परिचयपत्र देखिने गरी लगाउनु पर्ने उल्लेख छ । तर थाहा नगरपालिकामा रहेको मालपोत कार्यालयमा भने यी सबै नियम पालना कर्मचारीहरुले नगरेको देखिएको हो । मालपोत कार्यालयका निमित्त प्रमुख कार्कीले आगामी दिनमा गल्ती नदोहोरिने प्रतिबद्धता जनाएका छन् । अबदेखि कार्यालयमा आउन ढिलाइ हुन नदिने कार्की बताउँछन् ।







