चैनपुरमा बाल अधिकार समूह गठन

साझाकुरा
२०७९ पुष १, शुक्रबार १२:१४

हेटौंडा- जिल्लाको विकट मानिने चेपाङ र तामाङ समुदायको बाक्लो बसोबास रहेको राक्सिराङ गाउँपालिकाको चैनपुरमा बाल अधिकार समूह गठन गरिएको छ ।अनौपचारिक शिक्षा केन्द्र (इन्सेक) बागमती प्रदेशले बिहीबार राक्सिराङ–५, स्थित प्रजा जागृति आधरभुत विद्यालयमा बाल अधिकार समूह गठन गरेको हो । मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत इन्सेकले विद्यालयमा बाल अधिकार समूह गठन गरेको (इन्सेक) बागमतीका सहजकर्ता सलिना गौतमले जानकारी दिएकी छन् ।

विद्यालय स्तरमा बालबालिकालाई मानव अधिकारको बारेमा सचेत पार्नको लागि विद्यालयका बालबालिकाहरुलाई पनि समेटेर अगाडि जान सके समाजमा मानव अधिकारको प्रत्याभूति र समाजमा सुशासन कायम गराउनको लागि सहयोग पु¥याउन विद्यालय स्तरमा बाल अधिकार समूह गठन गर्न लागिएको गौतमले बताइन् । राक्सिराङ–५ का वडा अध्यक्ष हरिबहादुर प्रजाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले राक्सिराङ गाउपालिकामै मानव अधिकारका सवालमा काम गर्ने संस्था (ईन्सेक) भएको भन्दै मिलेर वडा सरकारसँगै अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

बालबालिकालाई बाल अधिकार र मानव अधिकारको बारेमा संस्थाले आफ्ना वडाका बालबालिकालाई थप जानकारी मिल्ने र मानव अधिकार तथा बाल अधिकारको बारेमा आफु पनि जानकार र अरु साथीभाईलाई पनि बुझाउन सक्ने बन्न शुभकामना दिए । गाँउपालिका सामाजिक विकास शाखाका गोविन्द बिश्वकर्माले समाजमा अझै पनि मानव अधिकार भनेको के हो ? र विद्यालयमा पढ्दै गरेको बालबालिकाहरुलाई अधिकारको बारेमा जानकारी नभएको भन्दै संस्थाले गर्न लागेको यस कार्यमा सहकार्य गर्ने बताए ।

अर्पण प्रजाको अध्यक्षतामा १३ सदस्यीय बाल अधिकार समूह गठन गरिएको हो । समूहको सचिवमा रोजन प्रजा र सहसचिवमा सोरिया प्रजा रहेका छन् । शिक्षक संरक्षकमा शर्मिला पौडेललाई चयन भएकी छन् ।इन्सेकले यसअघि राक्सिराङ गाँउपालिकाको ३ नम्बर वडास्थित सुर्योदय माविमा बाल अधिकार समूह गठन गरिसकेको छ । विद्यालयका प्रधानाध्यापक सुर्यबहादुर प्रजाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाको महिला तथा बालबालिका शाखाका गोमा पन्त, विद्यालय व्यवस्थापन समिति सदस्य सुरक्षा प्रजा, सहायक प्रधानाध्यापक रामप्रसाद सापकोटा,  रेडियो मनहरी एफएमका स्टेसन म्यानेजर शिवकुमार रिजाल काशी लगायतकाको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*