भूमिहीन चेपाङका समस्या बुझ्न जिसस प्रमुखदेखि सीडीओ पुगे गाउँ
हेटौंडा- विगतका वर्षदेखि भोगचलन गर्दै आइरहेको जमिन आफ्नो स्वामित्वमा आउनुपर्ने माग राखेर जनप्रतिनिधि भेटेका चेपाङहरुको वास्तविकता बुझ्न सरोकार वाला निकायहरु गाउँ पुगेका छन् ।जिल्लाको विकट राक्सिराङ गाउँपालिकामा शुक्रबार जिल्ला समन्वय समिति (जिसस) प्रमुख ललित घलान, राष्ट्रिय भूमी आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहाल, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, जिसस उपप्रमुख सानुकाजी लुईटेललगायतका पदाधिकारीले निरीक्षण गरेका छन् ।
यसअघि जिसस प्रमुख घलानलाई भेट्न राक्सिराङ–३, स्थित घट्टेखोलाका २९ घरधुरी चेपाङहरु हेटौंडा आएका थिए । उनीहरुले तत्कालीन जिल्ला विकास समिति मकवानपुर र प्रजा विकास कार्यक्रमको पहलमा २०४७ सालमा स्थान्तरण गरेर राखेको जग्गाको भूस्वामित्व माग गरेका थिए ।राक्सिराङका विभिन्न ठाउँमा रहेको जग्गा उपभोग गर्दै आइरहेको चेपाङहरुलाई नै दिलाउन पहल गर्ने र सुकुम्बासी चेपाङहरुको समस्या पहिचान गर्न सरोकारवालाहरुले शुक्रबार निरीक्षण गरेको गाउँपालिका उपाध्यक्ष अनुराग बनस्थमले जानकारी दिए ।
जिसस प्रमुखदेखि सीडीओहरुले राक्सिराङ गाउँपालिकाको घट्टेखोला, ठाडेचुरीमा स्थलगत निरीक्षण गरेका हुन् । गाउँपालिकाले चेपाङ समुदायले लामो समयदेखि झेल्दै आइरहेको समस्यालाई पहिचान गरी लालपूर्जा वितरण गर्न निरन्तर पहलकदमी गरिरहने उपाध्यक्ष बनस्थमले बताए ।
शुक्रबार जिसस प्रमुख घलान, उपप्रमुख लुईटेल, सदस्य विरेन्द्र लामा, प्रजिअ पाण्डे, आयोग जिल्ला अध्यक्ष दाहाल, आयोग जिल्ला सदस्य अर्जुनप्रसाद चौलागाई, राक्सिराङका वडा नम्बर ३ र ५ का वडा अध्यक्षहरु उत्तम वाईवा र हरिबहादुर प्रजा, जिल्ला मालपोत कार्यालय प्रमुख पूर्णहरि सुवेदी, नापी कार्यालय प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्की, जिल्ला र स्थानीय खाद्य अधिकार सञ्जालका संयोजकहरु क्रमश डा. सम्राट तुम्बाहाङ्फे र चित्रबहादुर थिङ लगायतले गाउँपालिकामा भूमिहीन चेपाङहरु बसोबास गर्दै आइरहेको स्थानमा निरीक्षण गरेका हुन् ।
चेपाङहरुसँग अन्र्तक्रिया समेत गरेका जिसस प्रमुख घलानले कानूनको दायराभित्र रहेर चेपाङहरुलाई गर्नुपर्ने सबै प्रकारको सहयोगमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए । भूमि आयोग जिल्ला अध्यक्ष दाहालले चेपाङलगायत अन्य सिमान्तकृत जातजातिका मानिसहरु हालसम्म पनि भूमिहिन र अव्यवस्थित रुपमा बसोबास गर्दै आएको भएर नै सरकारले भूमि आयोगको गठन गरेको बताए । उनीहरुको समस्या समाधान गर्नमा जिल्ला भूमि आयोग तयार रहेको उनको भनाइ थियो । प्रजिअ पाण्डेले आफ्नो तर्फबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । समुदायको तर्फबाट रामचन्द्र प्रजाले भूमिहीन चेपाङहरुको अवस्था र आगामी दिनमा सरकारबाट गर्नुपर्ने सहयोगका सम्बन्धमा धारणा राखेका थिए ।







