श्रीमती कुटेर श्रीमानद्वारा आत्महत्या
हेटौंडा- मकवानपुर जिल्लाको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकामा श्रीमती माथि कुटपिट गरेर श्रीमानले विष सेवन गरी आत्महत्या गरेका छन् ।घरमा श्रीमतीसँग झगडा गरेर कुटपिटपछि घाइते भएकी उनलाई उपचारका लागि अस्पताल पठाएर इन्द्रसरोबर गाउँपालिका घर भएका ३० वर्षीय युवकले विष सेवन गरेका थिए । बिहीवार राती ११ बजे इन्द्रसरोबर–५ खड्पुका बुद्धिराम बलामीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
खड्पुस्थित नेवार गाउँ बस्ने बलामीले घरमा श्रीमती २४ वर्षीया आस्था बलामीसँग झगडा गरेको अनुसन्धानबाट खुलेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । बलामीले श्रीमतीलाई कुटपिटसमेत गरी घाइते बनाएर उपचारको लागि ललितपुरस्थित पाटन अस्पताल पठाएको उनले बताए ।
कुटपिटबाट घाइते बनेकी श्रीमतीलाई उपचार गर्न अस्पताल पठाएपछि बलामीले आफ्नै घरमा सेलफस नामक बिषादी सेवन गरी आत्महत्या गरेको डीएसपी कार्कीले जानकारी दिए ।बलामीलाई अचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शुक्रबार बिहान १० बजेको समयमा प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थललाई सुरक्षित राखेर इलाका प्रहरी कार्यालय पालुङले घटनाबारे अनुसन्धान गरिरहेको डीएसपी कार्कीले जानकारी दिए ।







