बागमतीमा समानुपातिकतर्फ ३३ दलको धरौटी जफत

साझाकुरा
२०७९ पुष ३, आईतवार ०९:३८

हेटौंडा- निर्वाचन आयोग नेपालले बागमती प्रदेशमा समानुपातिकतर्फ ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको जानकारी दिएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शनिबार बागमती प्रदेशसभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेपछि पत्रकार सम्मेलन गर्दै आयोगले समानुपातिकतर्फ निर्वाचनमा ४० राजनीतिक दल सहभागी भएकोमा ३३ दलको धरौटी जफत भएको जनाएको हो ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत्को निर्वाचनमा कुनै राजनीतिक दलले कम्तिमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ । ऐनको दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

समानुपातिकतर्फ सहभागी दलहरुले ऐनमा तोकिएबमोजिम धरौटी तिरेरमात्रै उम्मेदवार खडा गर्नुपर्ने व्यवस्था रहेको आयोगका सचिव गोकर्णमणि दवाडीले जानकारी दिए । बागमती प्रदेश सभामा ७ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको हो । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टी रहेका छन् । यसैगरी, बागमती प्रदेशसभामा समानुपातिकतर्फ अन्तिम बन्द सूची कायम हुँदा ७ सय ५४ जना उम्मेदवार रहेका थिए ।

प्रत्यक्षतर्फ पुरुष ५ सय ८८ र महिला ८० गरी कूल ६ सय ६८ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । जसमध्ये प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ४ सय १७ जना र महिला उम्मेदवार ६७ जना गरी कूल ४ सय ८४ जनाको धरौटी जफत भएको आयोगका सचिव दवाडीले जानकारी दिए । बागमती प्रदेशसभामा १ सय १० प्रदेशसभा सदस्य रहनेछन् । ४ मंसिरमा भएको निर्वाचनबाट ६३ दशमलव ६३ प्रतिशत अर्थात् ७० जना पुरुष सदस्य र ३६ दशमलव ३७ प्रतिशत अर्थात् ४० जना महिला सदस्य निर्वाचन भएको आयोगले जानकारी दिएको छ ।

प्रत्यक्षतर्फ ५ सय ८८ जना पुरुष र ८० जना महिला गरी कूल ६६८ जना उम्मेदवार थिए । प्रत्यक्षतर्फको निर्वाचन प्रणालीमा ३५ राजनीतिक दलले सहभागिता जनाएका थिए । आयोगको प्रतिवेदनमा बागमी प्रदेशमा महिला १७ लाख ३३ हजार ३ सय ७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कूल ३४ लाख ७१ हजार ४ सय ९२ मतदाता कायम रहेका थिए । प्रत्यक्षतर्फ २१ लाख ४ हजार ५ सय ७८ (६० दशमलव ६२ प्रतिशत) मतदान भएको थियो ।

७६ हजार ९ सय ३८ (३ दशमलव ६६) प्रतिशत मत बदर भएको थियो । यसैगरी, समानुपातिकतर्फ निर्वाचनमा २० लाख ९९ हजार १ सय ७ (६० दशमलव ४७ प्रतिशत) मतदान भएको आयोगले जनाएको छ । १ लाख २५ हजार ६ सय ३३
(५ दशमलव ९९ प्रतिशत) मत बदर भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*