वाइपास सडकमा डिभिजन वनद्वारा सरसफाई
हेटौंडा- हेटौंडा उपमहानगरपालिकालाई सफा सहरको रुपमा कायम राख्ने अभियानले निरन्तरता पाइरहेको छ । यसअघि देशकै सफा सहर घोषित भएको हेटौंडालाई पुरानै उपलब्धि कायम गराउने अभियानमा हातेमालो बढ्दै गइरहेको छ । मेयरमा निर्वाचित भएपछि हेटौंडालाई सफा राख्ने अभियानअन्तर्गत् हरेक शनिबार सरसफाई अभियान चलाएकी प्रमुख मिनाकुमारी लामा यो शनिबार पनि खटिएकी छन् । उपमहानगरको सफा अभियानमा प्रत्येक वडा कार्यालय र टोल विकास संस्थाहरुले सहयोग गर्दै आएका थिए ।
हेटौंडालाई सफा राख्न उपमहानगरमात्र नभई बागमती प्रदेश सरकारले पनि सफा अभियान चलाउँदै आएको छ । शनिबार बागमती प्रदेश सरकारको सहर सफा गर्ने अभियानअन्तर्गत् डिभिजन वन कार्यालय मकवानपुरले हेटौंडा बजारको बाइपास सडक सरसफाई गरेको हो । राम मन्दिर चोकदेखि चाइनाक्वाटर गेटसम्मको क्षेत्र सरसफाई गरिएको छ । कार्यलयले हेटौंडा उपमहानगरपालिका र सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको समन्वय तथा सहकार्यमा सरसफाई अभियान सञ्चालन गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाको प्रमुख आतिथ्यता तथा डिभिजनल वन अधिकृत शिव सापकोटाको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । मेयर लामाले प्रदेशको राजधानी सफा र स्वच्छ बनाउन जिल्लाबासीकै भूमिका महत्वपूर्ण हुने बताइन् । यस अभियानमा हेटौंडा उपमहानगरपालिका सहयोग गर्न सदैव तयार रहेको उनको भनाइ थियो । प्रदेश राजधानीलाई सफा, स्वच्छ र हराभरा बनाउन यस अभियानले सहयोग पु¥याउने मेयर लामाले विश्वास व्यक्त गरिन् ।
सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी वल १४ नम्बर गण, सामुदायिक प्रहरी सेवा केन्द्र, वडा कार्यालय, टोल विकास संस्था, अमर मावि, ज्ञानदा मावि, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका शिक्षक तथा विद्यार्थी, सामुदायिक वन समूह, वनका कर्मचारी तथा सर्वसाधारणको उपस्थिति थियो । उपमहानगरपालिकाले प्रत्येक हप्ताको शनिबार सरसफाई अभियान सञ्चालन गरिरहेको छ भने डिभिजन वन कार्यालय मकवानपुरले बागमती प्रदेश सरकारको सहयोगमा महिनाको एकदिन सरसफाई अभियान सञ्चालन गरिरहेको छ ।







