छाप्रोमा प्रहरी चौकी, नयाँ बनाउने निर्णय कागजमै थन्कियो

साझाकुरा
२०७९ पुष ५, मंगलवार ११:४४

हेटौंडा-पुसको चिसो मौसम । समुन्द्री सतहबाट माथि भएकाले मकवानपुरगढी गाउँपालिकाको २ नम्बर वडास्थित जितपुरभञ्ज्याङमा धेरै ठण्डी चल्ने गर्छ ।पुसको चिसोको ठण्डीमा काठको छाप्रोमा प्रहरी बस्न बाध्य छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट शान्ति सुरक्षाका लागि खटिएका प्रहरीहरु जितपुरभञ्ज्याङको अस्थायी प्रहरी चौकीमा बसिरहेका हुन् । सानो काठको छाप्रो, तलबाट सानो पहिरो गएको छ । तर पनि प्रहरीहरु पुसको महिनामा चिसो नभनी सेवामा खटिएका छन् ।

यसअघि २०७७ सालमै मकवानपुरगढी र बकैया गाउँपालिकाको जनप्रतिनिधिहरुले व्यवस्थित प्रहरी चौकी निर्माणका लागि प्रतिबद्धता जनाउँदै निर्णयगरेका थिए । तर, कागजमा भवन बनाउने भन्दै हस्ताक्षर गरेका जनप्रतिनिधिहरुको प्राथमिकतामा नपरेपछि प्रहरीहरु हालसम्म पनि छाप्रोमै बस्न बाध्य भएका हुन् ।

हेटौंडाबाट करिब २० किलोमिटर टाढा जितपुरभञ्ज्याङमा रहेको प्रहरी चौकीले मकवानपुरगढीको २ र ७ नम्बर वडासँगै बकैयाको ११ र १२ नम्बर वडासम्म सेवा दिँदै आएको छ । त्यही चौकीमाथि काठमाडौं–तराई द्रुत मार्गमा सुरक्षाको जिम्मेवारी पनि काँधमा छ । अस्थायी प्रहरी पोष्टको कच्ची घर जीर्ण अवस्थामा रहेको हो । जितपुरभञ्ज्याङमा करिब १५ वर्षअघि अस्थायी प्रहरी चौकी स्थापना गरिएको थियो । पुरानो काठको घरमा जस्ताले घेरिएको जीर्ण संरचनामा डेढ दशकदेखि प्रहरी बसिरहेका हुन् । तर, पनि उनीहरुले व्यवस्थित बास पाएका छैनन् ।

हेटौंडा–काठमाडौं जोड्ने पुरानो सडक कान्तिलोकपथसँगैको प्रहरी चौकीलाई निर्माण गर्न २०७७ साल मंसिर १९ गते यहाँका स्थानीय तथा सरोकारवालाले निर्णय गरेका थिए । जितपुरभञ्ज्याङमा अस्थायी प्रहरी चौकीको भवन निर्माणका लागि मोहरे ढुंगेगढी टोल विकास संस्थाका अध्यक्ष सुधारजित गोलेसहित तत्कालिन जनप्रतिनिधिहरुको उपस्थितिमा निर्णय गरिएको थियो । त्यतिबेलै चौकी निर्माणका लागि मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाले आर्थिक सहयोग गर्ने, चौकीको घडेरी खार्न शिवम् सिमेन्ट उद्योगले सहयोग गर्नेलगायतको निर्णय भएका थिए । तर, निर्णय कार्यावयन गराउन भूमिका खेल्नेहरुको प्राथमिकतामा नपरेपछि निर्णय कागजमै सीमित भएको छ ।

चिसोमा कष्टकरसँग बस्दै आएका प्रहरीहरुले भवन निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्दिन आग्रह गरेका छन् । प्रहरी हवल्दार राजकुमार महतोको कमाण्डमा सहायक हवल्दार दुई र प्रहरी जवान कार्यर्त छन् । प्रहरी हवल्दार महतोले चिसोमा छाप्रोमा बस्न मुस्किल भएको बताए । वर्षातको समयमा पानी परेपछि पहिरो जाने त्रासले सताउने गरेको उनले स्मरण गरे। छाप्रोमा खाना पकाउने सहित तीन वटा कोठामात्रै रहेको छ । बजेट अभावका कारण प्रहरी चौकीमा इन्टरनेटसमेट जडान गर्न नसकिएको प्रहरीहरु बताउँछन् । चौकी भएको क्षेत्रमा खानेपानीको पनि समस्या रहेको उनले बताए ।

करिब दुईसय मिटर तलबाट पिउनेपानी, कपडा धुने, नुहाउने र अन्य कामका लागि पानी ल्याएर ड्रममा जम्मा गर्नुपर्ने बाध्यता उनीहरुलाई छ । निर्माणाधीन दु्रत मार्गको काम भइरहेकाले दु्रत मार्ग निर्माण स्थलमा हुने झैझगडा, सामान चोरी, कान्तिलोकपथ सडकमा हुने सवारी दुर्घटनाका घट्नामा चौकीले काम गरिरहेको छ । तर, प्रहरीहरुलाई गस्ती गर्ने सवारीसाधनको अभाव देखिएको छ । कतै घटना भएको खबर आउँदा सडकमा निस्किएर अन्य सवारीसाधनलाई ठाउँमा पु¥याइदिन आग्रह गर्नुपर्ने अवस्था रहेको महतोले गुनासो गरे । स्थानीय सामुदायिक वनको जग्गामा आश्रय लिएर बसेका प्रहरीका लागि स्थायी भवन संरचना निर्माणका लागि जग्गासमेत छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*