हेटौंडा सरुवा गरेको भन्दै अधिकृतले दिए राजीनामा
हेटौंडा-घरेलु तथा साना उद्योग कार्यालय चितवनमा रहँदा आफूलाई ३ महिनासम्म मानसिक यातना दिएर अपमानित ढंगबाट हेटौंडा सरुवा गरेको भन्दै एक अधिकृतले राजीनामा दिएका छन् ।अधिकृतस्तर आठौँ तहका प्रशिक्षण अधिकृत गणेश राउतले बुधवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफूमाथि अन्याय भएकोले सेवाबाट राजीनामा दिएको गुनासो गरेका छन् । उनले बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीका कारण आफूले राजीनामा दिन परेको आरोप लगाएका छन् ।
अधिकृत राउतले घरेलु कार्यालय चितवनमा आफूलाई मानसिक यातना हुने काम सचिवलगायतका कर्मचारीबाट भएको र हेटौंडा सरुवा गरेपछि राजीनामा दिन बाध्य भएको पत्रकारहरुसँग गुनासो गरेका हुन् । सचिव पुडासैनीले आफूभन्दा कनिष्टलाई कार्यालय प्रमुख बनाएको, भेट गरेर गुनासो गर्ने मौकासमेत नदिएको उनको आरोप छ ।
अधिकृत राउतले मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले आफ्नो करियर नै सिध्याउन लागेको गम्भीर आरोप लगाएका छन् । राजीनामा पत्रमा आफ्नो करियर बचाउन सेवाबाट बाहिरिन खोजेको दुःखेसो गरे । प्राविधिक फाँटका राउत यसअघि घरेलु तथा साना उद्योग कार्यालय भरतपुर, चितवनमा कार्यरत थिए । घरेलु कार्यालयमा मन्त्रालयका सचिव पुडासैनीले ३० असोज २०७९ मा लेखा अधिकृत धिरेन्द्र पोख्रेललाई आर्थिक अधिकारसहितको निमित्त प्रमुखको जिम्मेवारी दिए । आफूलाई वेवास्था गरेर आफूभन्दा तल्लोस्तरको कर्मचारीलाई प्रमुख दिएको भन्दै
राउत चिडिएको देखिन्छ ।
घटना यतिमा मात्रै सीमित नरहेको पाइएको छ । निमिक्त प्रमुख पोखरेलले १४ कात्तिक २०७९ मा जिम्मेवारी तथा अधिकार प्रत्यायोजन सम्बन्धमा ८ बुँदामा काम लगाएपछि विवाद थप चर्किएको देखिएको छ । राउतले आफूभन्दा कनिष्टको अण्डरमा बसेर काम नगर्ने भन्दै ‘कार्यालयमा मार्नेसम्मको धारणा व्यक्त गरेको, तथानाम गाली गर्ने गरेको, आफूलाई सातवटासम्म भुत चढ्ने भन्दै धम्क्याएको’ लगायतका गतिविधिले कर्मचारीहरुले सचिव पुडासैनीलाई पत्राचार गरेका थिए । १२ जना कर्मचारीहरुले हस्ताक्षरसहित राउतको व्यवहार ठीक नभएको आरोपपत्र सचिवलाई पठाएका हुन् ।
घरेलु कार्यालयका निमिक्त प्रमुख पोखरेलले सचिवलाई पठाएको पत्रमा अधिकृत राउतलाई कार्यकक्ष दिइए पनि बसेर काम नगरेको, कर्मचारीहरुसँग अवाञ्छित कार्य गरेकोलगायतका आरोप लगाइएको छ । तर, यी आरोपहरु निराधार रहेको राउतले दाबी गरे । १२ जना कर्मचारीले राउतबाट असुरक्षा भएको पत्र सचिवलाई पठाएपछि उनको सरुवा हेटौंडास्थित उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयमा २८ मंसिर २०७९ मा भएको खुल्छ । घरेलु कार्यालयमै तीन महिनासम्म आफूलाई मानसिक यातना दिएर काजसरुवा गरिएको भन्दै उनले ५ पुस ०७९ मा मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । यद्यपि, उनको राजीनामा सदर भने भइसकेको छैन् ।
राउतले आफूलाई अन्यायमा पर्दा न्यान दिनुपर्ने ठाउँमा उल्टै सचिवले सरुवा गरेको, मानसिक पीडा बढाउने गरी सचिव पुडासैनीले भेट्नसमेत नदिएको गुनासो गरे । सचिव पुडासैनीले आफूले भेट्न नदिएको स्वीकारे । साझाकुासँग कुरा गर्दै सचिव पुडासैनीले राउतले आफूलाई समेत भौतिक रुपमा धम्क्याएको बताए । अशोभनीय व्यवहार देखाएकै कारण आफूले भेट गर्न नदिएको उनको भनाइ छ । अधिकृत राउतले आफूलाई धम्क्याउन राजीनामा दिएको उनको भनाई छ । सचिव पुडासैनीले राउतसँग काम गर्ने एउटा मात्रै कर्मचारीले राउतको आचरण र गतिविधि ठीक रहेको भनेमा आफूले उनलाई सच्चिने मौका दिने बताए ।
घरेलु कार्यालय चितवनका १२ जना कर्मचारीले राउतबाट असुरक्षा भएको पत्र पठाएपछि निर्देशनालयमा सरुवा गरेको उनको भनाइ छ । कार्यालयमा रहँदा उनले कामसमेत नगरेकाले कारबाही गरिएको बताए । ‘उनले सेवाग्राहीलाई समेत दुःख दिने गरेको पाइयो । आवश्यक नै नपर्ने कागजात ल्याउन सेवाग्राहीलाई धम्क्याउँदा रहेछन्,’ उनले भने । उनको गतिविधिबारे पर्याप्त प्रमाण रहेकाले मन्त्रालयले राउतलाई बर्खास्त गर्न लागेको उनले जानकारी दिए । आफ्नो सेवा अवधिमा राउत जस्तो व्यवहारको कर्मचारी कहिल्यै नदेखेको उनको आरोप छ ।







