बागमती प्रदेशसभाको सर्वदलीय बैठक बस्दै

साझाकुरा
२०७९ पुष ८, शुक्रबार ०९:५४

हेटौंडा- बागमती प्रदेशसभाको सर्वदलीय बैठक शुक्रबार बस्दैछ । प्रदेशको नवनिर्वाचित सांसद्हरुको शपथलगायतको विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक बस्न लागेको हो । बागमती प्रदेशसभा सचिवालयले शुक्रबार ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको छ ।
सर्वदलीय बैठकका लागि प्रत्येक राजनीतिक दलबाट दुई–दुई जनालाई बोलाएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

सर्वदलीय बैठकले ज्येष्ठ सदस्यको सपथग्रहण गराउनुपर्ने, प्रदेश सांसद्हरुको सपथग्रहण गराउनुपर्ने र सदन सञ्चालन गर्नेबारे छलफल गरिने उनको भनाइ छ ।प्रदेशसभा सचिवालयले प्रदेश सांसद्हरुमध्येबाट ज्येष्ठ सदस्यको पहिचान गरिसकेको छ । माओवादी केन्द्रबाट नुवाकोट निर्वाचन क्षेत्र २ को (क) बाट प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षीय रामप्रसाद ढु·ाना प्रदेश सभाको ज्येष्ठ सदस्य हुन् । सभामुख तथा उपसभामुख चयन नभएसम्म ज्येष्ठ प्रदेशसभा सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था रहेको छ ।

प्रदेशसभाको पहिलो बैठक सुरु भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा १८२ को उपधारा १ मा रहेको छ । आयोगले गत शनिबार निर्वाचनको अन्तिम परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष बुझाएसँगै सचिवालय सांसद्हरुको सपथ ग्रहण तथा प्रदेशसभा सञ्चालनको तयारीमा जुटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*