बुद्ध पार्कमा २ सय बढी विरुवा रोपियो

साझाकुरा
२०७९ पुष ८, शुक्रबार १०:१३

हेटौंडा- हेटौंडा शहरलाई हरित नगरी बनाउने अभियानअन्तर्गत् हेटौंडा–११ राप्ति पुल पारी निर्मित बुद्ध पार्कमा वृक्षरोपण गरिएको छ ।हेटौंडालाई थप सुन्दर र आकर्षक शहर निर्माणका लागि पार्कमा विहीवार वृक्षरोपण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले जोड दिँदै आएको हरित नगरी अभियानले निरन्तरता पाइरहेको हो ।

नियमित उपमहानगरक्षेत्रमा सरसफाई, वृक्षरोपणसहित पार्क निर्माणले शहरको सुन्दरता बढाउने विश्वासका साथ लामाले कामलाई अघि बढाएकी हुन् ।‘हेटौंडा सफा अभियान’ सञ्चालन गर्दै उपमहानगर क्षेत्रमा रहेका टोल विकास संस्था र संघसस्थामार्फत् नगरको सुन्दरतामा जोड दिएकी नगर प्रमुख लामाले बुद्ध पार्कमा विरुवा रोपेकी हुन् ।

नगर प्रमुख लामासहित समाजसेवी सिद्धिलाल श्रेष्ठलगायतले २ सय १५ बिरुवा रोपेका थिए । बाहिरबाट हेटौंडा आउने पर्यटक तथा हेटौंडाहुँदै राजमार्गमा हिँड्नका लागि हरियो र सुन्दर देखाउन उपमहानगरले कल्की, बृगमबेली, गुल्मोहर, निलकाँडाँ, पामसहितका बिरुवा राप्ती किनार क्षेत्रको माथिल्लो भागमा रोपेको हो ।

राजमार्ग क्षेत्रको राप्तिपुल पारी सडक किनारमा गरिएको वृक्षरोपणमा स्थानीय सिमलटार टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुको पनि सहभागिता थियो । जनतासँगको सहकार्यमा काम गर्न सके रोपिएको विरुवाको पनि संरक्षण हुने नगर प्रमुख लामाले बताइन् । नगर प्रमुखमा निर्वाचित भएपछि हरित शरहसँगै सफा अभियान पनि सञ्चालन गर्न जोड दिँदै आएकी लामाले बजारलाई व्यवस्थित बनाउन कार्यदल बनाएर काम गरिरहेको बताएकी छन् ।

शहरलाई सुन्दर र व्यवस्थित देखाउन खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा नगरबासीलाई १० हजार लिटर खानेपानी निःशुल्क दिने, अव्यवस्थित रुपमा निर्माण भएका टहरा हटाउने, सडक पेटी सफा राख्ने र अव्यस्थित रुपमा सञ्चालनमा रहेको अटो मयुरी व्यवस्थापनसहितको काम गर्दै अघि बढिरहेको उनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*