सालक संरक्षणको विषयमा सरोकारवालाबीच छलफल

साझाकुरा
२०७९ पुष ८, शुक्रबार १०:१६

हेटौंडा- लोपोन्मुख एवम् संरक्षित सूचीमा रहेको सालकको संरक्षणको विषयमा हेटौंडामा सरोकारवालाहरुबीच छलफल भएको छ ।  विहीबार हेटौंडामा सालकको संरक्षण, यसको संख्यामा बृद्धि, आहार, यसको फाइदा, कानूनी प्रावधानलगायत विषयमा आयोजित समन्वयात्मक बैठकमा सरोकारवालाहरुबीच छलफल भएको हो । बैठकमा हिमालयन नेचरका परियोजना अधिकृत प्रदीप सेढाईले नेपालमा सालक संरक्षणको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बैठकमा सहभागीहरुले सालक संरक्षणमा समुदाय सक्रिय हुनुपर्ने, पर्सा वन्यजन्तु आरक्षले सहयोग गर्नुपर्ने, स्थानीय तहले सहजीकरण गर्नुपर्ने, बादरबाट हुने क्षतिको सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने र सालकको संख्यामा बृद्धि गर्न जनचेतना बढाउनेलगायत विभिन्न प्रकारका कार्यहरु गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा डिभिजन वन कार्यालय, राप्तीका सहायक वन अधिकृत गगन शर्मा, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सालक संरक्षणमा सामुदायिक वनले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका
थिए ।

बैठकमा चेतना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बंशीगोपाल कँडेल, लोकहित सामुदायिक वनका अध्यक्ष चन्द्रबहादुर मोक्तानलगायतले सालकको संरक्षणमा गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए । बैठकमा चुच्चेखोला सामुदायिक वन, चेतना मध्यवर्ती सामुदायिक वन र सिटु मध्यवर्ती सामुदायिक वनका पदाधिकारी र उपभोक्ता पदाधिकारीको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*