थाहाका सामुदायिक विद्यालयका २५ विद्यार्थीलाई छात्रवृत्ति

साझाकुरा
२०७९ पुष ८, शुक्रबार १०:२९

हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको ३ नम्बर वडा कार्यालयले आफ्नो वडाभित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत् २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । थाहा नगरपालिकाको विकास घरमा विहीवार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले छात्रवृत्ति हस्तान्तरण गरेका छन् । वडा नम्बर ३ स्थित सेती गणेश आधारभूत विद्यालयका ६ जना, जनता प्राविका ६ जना, जनकल्याण माविका ११ जना र पालुङ बहुमुखी क्याम्पसमा अध्यनरत् २ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति प्रदान गरिएको हो ।

छात्रवृत्तिमा पालुङ क्याम्पसमा अध्यनरत्को लागि भर्ना शुल्कसहित मासिक शुल्क प्रदान गरिएको वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीले जानकारी दिए ।जनकल्याण माविमा ११ र १२ मा अध्यनरत् विद्यार्थीका लागि कोट पाइन्टसहित अन्य शैक्षिक सामग्री तथा अन्य विद्यार्थीहरुलाई विद्यालय पोशाक जुत्ता, स्वेटरसहित अन्य शैक्षिक सामग्री उपलब्ध गराइएको वडाध्यक्ष रायमाझीले बताए । उनले छात्रवृत्ति पाएका विद्यार्थीहरुको अनुगमनसमेत हुने जनाए ।

थाहाका मेयर बिष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न व्यापक पहलको आवश्यकता औंल्याएका छन् । उनले थाहा नगरभित्र रहेका सामुदायिक विद्यालयको अवस्था परिवर्तन गर्न अभिभावक, शिक्षक तथा विद्यार्थी र नगरपालिकासमेत त्यतिकै जिम्मेवार भएर लागिपर्ने धारणा राखे । विष्टले सम्बन्धित क्षेत्रबाट आफ्नो जिम्मेवारी बहन नगरुन्जेल सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने बताए ।

वडा नम्बर ३ का अध्यक्ष रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरको शिक्षा शाखा अधिकृत माधवविक्रम मल्ल, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, ३ न वडाका वडा सदस्यहरु, छात्रवृत्ति पाउने विद्यालयका शिक्षक प्रतिनिधि, पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्रलगायको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*