राक्सिराङका बालबालिकालाई मानव अधिकार तालिम
हेटौंडा- राक्सिराङ गाउँपालिकामा गठित बाल अधिकार चेतना समूहका बालबालिकाका लागि मानव अधिकार सम्बन्धि तालिम प्रदान गरिएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा राक्सिराङ गाउँपालिका–३ स्थित सूर्याेदय माध्यमिक विद्यालयमा दुई दिने तालिमको सुरुवात गरिएको हो । तालिममा बाल अधिकार, बाल दुव्र्यवहार, मानव अधिकार र बाल भित्तेपत्रिका प्रकाशन लगायत बिषयहरुमा सहजीकरण गरिएको इन्सेकका सहजकर्ता सलिना गौतमले जानकारी दिइन् ।
तालिममा सूर्याेदय माध्यमिक विद्यालय र राक्सिराङ–५ स्थित प्रजा जागृति आधारभूत विद्यालयमा गठित बाल अधिकार चेतना समूहका विद्यार्थीहरु सहभागी रहेका छन् । तालिममा सञ्चारकर्मी शिवकुमार रिजाल काशी र इन्सेक बागमती प्रदेश कार्यालयकी फोकल पर्सन बालुका न्यौपानेले सहजीकरण गरेका थिए ।
राक्सिराङ गाउँपालिका–३ का वडा अध्यक्ष उत्तम वाइबाले तालिम उद्घाटन गर्दै बालबालिकाहरुले बाल अधिकार र मानव अधिकारका बारेमा सानैदेखि बुझ्दै जानुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रम सूर्याेदय माध्यमिक विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदीको सभाध्यक्षतामा भएको थियो । इन्सेकले मानव अधिकार परियोजना अन्तर्गत् राक्सिराङ गाउँपालिकामा तीन वर्ष मानव अधिकार शसक्तीकरणको क्षेत्रमा काम गर्ने जनाइएको छ ।







