थाहाको हिमालयनद्वारा विद्यार्थीलाई सम्मान

हेटौंडा-थाहा नगरपालिकाको हिमालयन ईङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलले विज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
विद्यालयले थाहा नगरपालिकाद्वारा झम्केश्वरी मावि थाहा–१ को व्यवस्थापनमा आयोजना गरेको माद्यमिक तह स्तरिय विज्ञान प्रदर्शनीमा प्रथम तथा शिक्षा विकास तथा समन्वय इकाई हेटौंडाको आयोजनामा हेटौंडामा भएको अन्तर माद्यमिक तह मकवानपुर जिल्ला स्तरीय विज्ञान प्रदर्शनिमा सहभागी भई द्वितीय हुने विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको हो ।
विद्यालयका प्रिन्सिपल बाबुलाल कार्कीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामाको प्रमुख आथित्यता रहेको थियो ।वडाध्यक्ष लामाले विद्यालयमा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् । उनले जिल्लास्तरमा समेत द्वितीय भई थाहा नगरको नाम राख्न सकेकोमा विद्यार्थी र विद्यालय परिवारलाई बधाई दिए । विद्यालयका संस्थापक सानोभाई कार्कीले कक्षागत उत्कृष्टतासँगै सिकेको ज्ञानलाई व्यवहारमा उतार्न यस्ता प्रदर्शनी तथा योजना फलदायी हुने बताए । उनले विद्यार्थीहरु सैद्धान्तिक शिक्षासँगै अतिरिक्त क्रियाकलपामा पनि अब्बल हुनुपर्ने बताए ।
विद्यार्थीको प्रतिभा र क्षमताको सम्मानसहित उनीहरुको उत्साह वृद्धिको लागि सम्मान कार्यक्रम आयोजना गरिएको विद्यालयका संयोजक संगम कार्कीले बताए ।सोही अवसरमा विद्यालयका विषयगत शिक्षक बिक्रम मल्ललाई पनि सम्मान गरिएको थियो । विज्ञान प्रदर्शनीमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुले स्मार्ट सिटी प्रोजेक्ट बनाई सहभागी भएका थिए । उक्त प्रोजेक्टमा सहभागी विद्यार्थीहरुलाई प्रमुख अतिथि लामा, विद्यालयका संस्थापक कार्की, प्रिन्सिपल कार्कीले प्रशंसा प्रदान गरेका थिए ।
यसअघि हेटौंडामा भएको जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा हिमालयन ईङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल द्वितीय हुँदा भीमफेदीको महेन्द्रकिरण मावि प्रथम भएको थियो । जिल्लामा प्रतिस्पर्धा गराउन पठाउँदा थाहा नगरपालिकाले नै नगरस्तरीय प्रतियोगिता गराएको थियो ।