प्रदेशसभाको नयाँ अधिवेशन पुस १८ गते आह्वान

हेटौंडा- बागमती प्रदेशसभाको नयाँ अधिवेशन पुस १८ गतेको लागि आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेशसभाको ११ औं अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा बैठक पुस १८ गते सोमबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट गठित प्रदेशसभाको पहिलो बैठक सोमबारका लागि तय भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुख शर्माले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशनको आह्वान गरेका हुन् । बामती प्रदेश मन्त्रिपरिषद्को बैठकले १८ गते अधिवेशन आह्वान गर्न बुधबार प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेशसभाका सदस्यहरुले बिहीबार पद तथा गोपनियताको शपथ लिइसकेका छन् ।