सोनाम ल्होछारमा बृहत सांस्कृतिक कार्यक्रम हुने
हेटौंडा-सोनाम ल्होछारको अवसरमा मकवानपुर तामाङ कलाकार संघले माघ ८ गते ल्होछार विशेष वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
२८५९ औं ह्योयी तावार ल्हो (खरायो वर्ष) सोनाम ल्होछारको अवसरमा संघले माघ ८ गते ल्होछार विशेष वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको हो । बिहिबार पत्रकार सम्मेलन गर्दै संघले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित टिसियन चौरमा हुने कार्यक्रममा मकवानपुरे तामाङ कलाकारहरुको गायन, नृत्य साथै अभिनयको प्रस्तुतिहरु रहने जानकारी दिएको छ ।
मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन्द्र लामाले तामाङ संस्कृतिको बारेमा जानकारी दिने उद्देश्यले सांस्कृतिक कार्यक्रम गर्न लागेको बताए । कार्यक्रममा तामाङ झांकी प्रदर्शन, तामाङ भेष–भुषा र खानाका स्टलहरु रहने अध्यक्ष लामाको भनाई छ । यस्तै कार्यक्रममा तामाङ जातीको मौलिक संस्कार, संस्कृति, भेष–भुषा र भाषाको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै मकवानपुरे तामाङ कलाकारहरुको कलालाई प्रोत्साहन गर्नपनि कार्यक्रमको आयोजना गर्न लागिएको संघका महासचिव रविन्द्र थिङले जानकारी दिए ।
ल्होछार विषयक जागरण ल्याउने उद्देश्यले गर्न लागिएको कार्यक्रमबाट संस्थाको आफनै भवन निर्माण सहयोगार्थ चिट्ठा कार्यक्रम समेत रहेको महासचिव थिङले बताए । माघ ८ गते विहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने कार्यक्रममा प्रवेश शुल्क नलाग्ने पनि महासचिव थिङले जानकारी दिए ।







