वार्षिकोत्सवको अवसरमा नारायणी सहकारीद्वारा सम्मान

साझाकुरा
२०७९ पुष १६, शनिबार ०८:३५

हेटौंडा- हेटौंडामा ठूलो आर्थिक कारोबार गर्ने सहकारीमध्ये एक रहेको ९ नम्बर वडास्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वार्षिकोत्सवको अवसर पारेर विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।२७ औं वार्षिकोत्सवको अवसरमा नवनिर्वाचित सांसद्हरु, पत्रकार, असल बचतकर्ता, ऋणि, ज्येष्ठ नागरिक, एकल महिला, ज्येष्ठ शेयर सदस्य, कर्मचारी तथा सहयोगीहरुलाई सम्मान गरेको
छ । सहकारीले सहकारीका असल बचतकर्तामा प्रतिमा बाबु श्रेष्ठ, असल मासिक बचतकर्ता सोमबहादुर दोङ लामा, असल ऋणिमा सुशिला कमिनी, पत्रकार अशोकसुजन श्रेष्ठ, वृद्ध भत्ता प्राप्त गर्ने सदस्यहरु, वडाको ज्येष्ठ नागरिकहरु, एकल महिला, ज्येष्ठ शेयर सदस्यहरुलाई नगद तथा उपहारसहित शुक्रबार सम्मान प्रदान गरिएको हो ।

सहकारीले बागमती प्रदेश सांसद् एकालाल श्रेष्ठ र समानुपातिक प्रदेश सांसद् लक्ष्मी श्रेष्ठलाई दोसल्ला ओढाएर बधाई तथा सम्मान गरेको छ । सहकारीको खुत्रुके बचतकर्ता, उत्कृष्ट बचत समूह, सहकारीको दैनिक निर्माण सामग्री लोड अनलोड गर्ने सहयोगीहरु, संस्थाबाट सम्पूर्ण निर्माण सामग्री प्रयोग गरी घर निर्माण गर्ने सदस्यहरु, नियमित कारोबारीहरु, निर्माण सामग्री बिक्रीमा विशेष भूमिका खेल्नेहरु, सहकारीका विशेष सहयोगीलगायतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सांसद् श्रेष्ठले सहकारी सामाजिक संस्था भएकाले जागरण र समाजको विकासको महत्वपूर्ण काम गर्नुपर्ने बताए । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले उपमहानगरले सहकारी सम्बन्धी नीति बनाउँदै गरेको भन्दै आर्थिक उद्यम विकासमा सहकारीहरुले भूमिका खेल्नुपर्ने बताएकी छन् । ऋण लगानी गर्दा सहकारी सचेत हुनुपर्ने भन्दै एक जना ऋणी घाटामा जाँदा समग्र सहकारीमा असर पर्नेमा गम्भीर हुनुपर्ने उनको भनाइ छ । आफ्नो नेतृत्वमा उपमहानगरपालिकाले कोभिड, डेंगु जस्ता रोगबाट नगरवासीलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेका लामाले दाबी गरेकी छन् । सफा हेटौंडा, स्वच्छ हेटौंडालगायत अभियानमा जोडिन सहकारी र सहकारीकर्मीलाई आग्रह गरिन् ।

कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने, सहकारीका सल्लाहकार प्रकाश पौडेल, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–९ की अध्यक्ष रमिला सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा हेटौंडा–९ का वडा अध्यक्ष सुकराम केसी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडा, सहकारीका पूर्वअध्यक्ष निरञ्जन ढकाल, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाकी उपाध्यक्ष सति खड्का न्यौपानेलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*